काठमाडौँ- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ नगर्न ध्यानाकर्षण गराएको छ। विश्वविद्यालय आफ्नो वार्षिक क्यालेन्डरअनुसार चल्न नसक्दा अहिलेको परीक्षा प्रणाली नै नाजुक र भद्रगोल भएको भन्दै संघले त्रिवि परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गराएको हो।
नेविसंघले बुझाएको ज्ञापनपत्रमा परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीमाझ आफ्नो परीक्षा हुने नहुने भन्ने विषयमा ठूलो अन्योल बढ्दै गएको, परीक्षाको नतिजा प्रकाशनपछि पनि सयौँ दिनसम्म विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र तयार नगरेको उल्लेख छ।
देशको उच्च शिक्षाको करिब ८०५ भार बोकेको त्रिभुवन विश्वविद्यालय विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार बनेको आरोप नेविसंघको छ। त्रिभुवन विश्वविद्यालयको नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ। साउनमा सकिएको स्नातक दोस्रो वर्षको परीक्षाको नतिजा आठ महिना बितिसक्दा पनि प्रकाशित भएको छैन। विद्यार्थीले तेस्रो वर्षको परीक्षासमेत दिइसकेका छन्। अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा फर्म पनि खुल्न नपाउँदै जुनियर ब्याचका विद्यार्थी दोस्रो वर्षमा प्रवेश गरिसकेकाले एउटै वर्षमा दुई व्याच जस्तो देखिएको छ।
यस्ता छन् माग
१. त्रिभुवन विश्वविद्यालयको वार्षिक कार्यतालिकाअनुसार सम्पूर्ण काम हुनुपर्ने।
२. परीक्षा सकिएको तीन महिनाभित्रमा नै परीक्षा नतिजा प्रकाशन गरिसक्नुपर्ने।
३. शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि अनलाइनमार्फत आवेदन दिन पाउने प्रविधिको व्यवस्था गर्नुपर्ने।
४. प्रमाणपत्र प्राप्तिका लागि आवेदन दिएको बढीमा २४ घण्टाभित्र प्रमाणपत्र उपलब्ध गराउनुपर्ने।
५. परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण प्रमाणपत्रमा हुने त्रुटि सच्याउन आवेदन दिँदा निःशुल्क हुनुपर्ने।
६. सेवामुखी तथा आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्दै भइरहेको सम्पूर्ण ढिलासुस्ती हटाउनुपर्ने।
७. अबको १५ दिनभित्र प.नि.का. परिषद्मा एउटा छुट्टै सहयोग कक्ष स्थापना गरी सेवा प्रदान गर्नुपर्ने।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८, १४:०३:००