काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक र कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा मुद्दा तथा प्रकरणबाट उक्त रकम असुल गरिएको हो।
विश्वविद्यालयले अध्ययन बिदा लिएपछि सेवामा नफर्किएका तथा फर्किए पनि अनिवार्य सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीबाट रकम असुल गर्ने प्रक्रिया अघि बढाएको हो।
त्रिविका अनुसार अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना जोडेर सम्बन्धित व्यक्तिबाट रकम असुल गर्ने व्यवस्था छ।
विश्वविद्यालयले थप प्रकरणको हिसाब–किताब तयार पार्ने तथा सम्बन्धित शिक्षक र कर्मचारीका अभिलेख खोजी गर्ने काम जारी राखेको जनाएको छ।
उपलब्ध विवरणअनुसार हिसाब–किताब तयार भइसकेका प्रकरणमा मात्रै करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ।
त्रिविका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख अध्ययन गरी विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम यकिन गर्ने काम भइरहेको छ।
रकम यकिन भएपछि सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने प्रक्रिया अघि बढाइने विश्वविद्यालयले जनाएको छ।
अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई त्रिविले पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्बन्धित शिक्षक तथा कर्मचारीले [email protected] इमेलमार्फत पनि विश्वविद्यालयसँग सम्पर्क गर्न सक्ने त्रिविले जनाएको छ।
तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले चेतावनी दिएको छ।