दाङ- नेपाल संस्कृत विश्वविद्यालयले शैक्षिक, प्राज्ञिक, अनुसन्धानात्मक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित र परिणाममुखी बनाउने तयारी गरेको छ।
विश्वविद्यालयको समग्र संस्थागत सुधारका लागि अनुसन्धान, ग्रन्थ प्रकाशन, प्रविधिको प्रयोग, पुस्तकालय व्यवस्थापन र शिक्षण सिकाइलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालिएको हो।
विश्वविद्यालयका विभिन्न अङ्ग–निकाय तथा महाशाखाका प्रमुखहरूसँग बिहीबार दाङमा भएको छलफलमा विश्वविद्यालयको वर्तमान अवस्था, कार्यसम्पादनका चुनौती, आपसी समन्वय र जिम्मेवारी कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको थियो।
उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाको अध्यक्षतामा भएको छलफलमा शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी र कुलसचिव प्रा.डा. नवराज कट्टेलसहित केन्द्रीय कार्यालय परिसरअन्तर्गतका विभिन्न अङ्ग–निकाय तथा महाशाखाका प्रमुखहरूको सहभागिता थियो।
छलफलमा विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रशासनिक कामलाई प्रभावकारी, चुस्त र प्रविधिमैत्री बनाउने विषयमा जोड दिइएको थियो। सबै निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदानलाई संस्थागत सुधारको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने निष्कर्ष निकालिएको छ।
पुस्तकालयलाई अध्ययन र अनुसन्धानको केन्द्र बनाइने
विश्वविद्यालयको पुस्तकालयलाई आधुनिक, व्यवस्थित र स्रोतसम्पन्न बनाउने विषयलाई विशेष प्राथमिकता दिइएको छ। विद्यार्थी, शोधार्थी तथा प्राध्यापकका लागि आवश्यक पुस्तक तथा अन्य शैक्षिक स्रोतसामग्री सहज रूपमा उपलब्ध गराउँदै पुस्तकालयलाई अध्ययन, अध्यापन र अनुसन्धानको प्रभावकारी आधार बनाउने योजना अघि सारिएको छ।
विश्वविद्यालयको मौलिक प्राज्ञिक पहिचानलाई थप बलियो बनाउन अनुसन्धान तथा ग्रन्थ प्रकाशनका कामलाई पनि प्राथमिकतामा राखिने भएको छ। संस्कृत वाङ्मय, पूर्वीय ज्ञानपरम्परा तथा समसामयिक विषयमा अनुसन्धानको दायरा विस्तार गर्दै अनुसन्धानलाई गुणस्तरीय र उपयोगी बनाउने विषयमा छलफल भएको थियो।
शोधार्थीका समस्या समाधानमा सहजीकरण
शोधकार्य पूरा गरिसकेका शोधार्थीले भोगिरहेका समस्या तथा प्रक्रियागत जटिलता समाधान गर्न विश्वविद्यालयले आवश्यक पहल गर्ने भएको छ।
शोधार्थीका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत यथाशीघ्र समाधान गर्ने तथा शोधकार्य पूरा गर्न सहज वातावरण निर्माण गर्ने विषयमा समेत छलफलमा जोड दिइएको थियो।
प्रशासनमा प्रविधिको प्रयोग बढाइने
विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक काममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने र डिजिटल प्रणालीलाई विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
कार्यालयीय कामलाई प्रविधिमैत्री बनाउँदै सेवा प्रवाह तथा कार्यसम्पादनलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित डिजिटल प्रणाली विस्तार गर्ने निष्कर्ष निकालिएको छ।
शिक्षण सिकाइ सुधारसँगै आयुर्वेदमा पनि जोड
विश्वविद्यालयको पठनपाठन प्रक्रियालाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै शिक्षण सिकाइमा आधुनिक विधि तथा प्रविधिको प्रयोग बढाउने विषयमा पनि जोड दिइएको छ।
विद्यार्थीको शैक्षिक उपलब्धिलाई केन्द्रमा राखेर शिक्षण वातावरण सुधार गर्ने तथा आयुर्वेद शिक्षण, अध्ययन र अनुसन्धानसँग सम्बन्धित गतिविधिलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
जिम्मेवारी पूरा गर्न पदाधिकारीलाई आग्रह
छलफलमा विश्वविद्यालयका सबै अङ्ग, निकाय र महाशाखाबीच सहकार्य र समन्वय कायम गर्दै कार्यसम्पादनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो।
सम्बन्धित पदाधिकारी तथा निकायले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने, भएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र कार्यसम्पादनका क्रममा देखिएका समस्या समयमै पहिचान गरी समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिइएको छ।
उपकुलपति खतिवडाले विश्वविद्यालयको समग्र विकासका लागि शैक्षिक उत्कृष्टता, अनुसन्धान विस्तार, ज्ञान–सिर्जना, ग्रन्थ प्रकाशन, प्रविधिको उपयोग तथा प्रभावकारी प्रशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।
विश्वविद्यालयको गरिमा र भविष्य निर्माणमा सबै अङ्ग–निकाय तथा कर्मचारीको समान जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जिम्मेवारी निष्ठा, अनुशासन र परिणाममुखी ढङ्गले सम्पादन गर्न आग्रह गरे।
छलफलले नेपाल संस्कृत विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा, अनुसन्धान, ज्ञान–सिर्जना, ग्रन्थ प्रकाशन तथा प्रविधिको समुचित प्रयोगमार्फत सशक्त प्राज्ञिक केन्द्रका रूपमा विकास गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालेको छ।