काठमाडौँ- अमेरिकाको प्रतिष्ठित बोस्टन युनिभर्सिटीकी प्राध्यापक तथा वित्त क्षेत्रकी विज्ञ प्रो. इरेना भोदेन्स्का काठमाडौँस्थित मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), कमलादीमा आयोजना हुने विशेष अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने भएकी छन्।
‘फाइनान्स बियोन्ड बोर्डर्स : स्थानीय अनुभव, विश्वव्यापी दृष्टिकोण र डिजिटल भविष्य’ शीर्षकमा सेप्टेम्बर २२ अर्थात् असोज ६ गते आयोजना हुने कार्यक्रममा वित्त क्षेत्रका स्थानीय अनुभव, विश्वव्यापी वित्तीय अभ्यास तथा डिजिटल प्रविधिले वित्त क्षेत्रमा पारिरहेको प्रभावबारे छलफल हुने जनाइएको छ।
प्रो. भोदेन्स्का बोस्टन युनिभर्सिटी मेट्रोपोलिटन कलेजअन्तर्गत वित्त कार्यक्रमकी निर्देशक तथा प्रशासनिक विज्ञान विभागकी प्रमुखसमेत हुन्। उनले कार्यक्रममा विश्वव्यापी वित्तीय अभ्यास र दृष्टिकोणका विषयमा प्रस्तुति दिनेछिन्।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागअन्तर्गत वित्त विषय समितिका अध्यक्ष सहप्राध्यापक डा. भरत सिंह थापाले स्थानीय वित्तीय अनुभवका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
प्रस्तुतिपछि दुवै विज्ञबीच ‘फाइनान्स बियोन्ड बोर्डर्स’ विषयमा ४५ मिनेटको मध्यस्थतासहितको प्यानल छलफल सञ्चालन गरिनेछ। त्यसपछि विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ।
बिहान १० बजेदेखि एमआईटीमा कार्यक्रम
एमआईटी र इन्टरनेसनल अमेरिकन युनिभर्सिटीको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रम एमआईटीको पाँचौँ तल्लास्थित सेमिनार हलमा बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन कलेजका सहसंस्थापक आर.के. दाहालको स्वागत मन्तव्यबाट हुने जनाइएको छ।
विद्यार्थीका लागि अन्तर्राष्ट्रिय विज्ञसँग सिक्ने अवसर
बीबीए तथा एमबीए तहमा वित्त र बैंकिङ विषय अध्ययनरत विद्यार्थीका लागि कार्यक्रम उपयोगी हुने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत विद्यार्थीले वर्तमान वित्तीय अवस्था, विश्वव्यापी वित्तीय अभ्यास तथा डिजिटल वित्तीय प्रविधि (फिनटेक) सम्बन्धी व्यावहारिक र अन्तर्राष्ट्रिय दृष्टिकोण बुझ्ने अवसर प्राप्त गर्नेछन्।
एमआईटी कलेजले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अनुभव तथा व्यावहारिक ज्ञान विद्यार्थीमाझ पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।