काठमाडौँ- नेपाल सरकारले विश्वविद्यालय शिक्षा ऐन तथा विद्यालय शिक्षा ऐन निर्माणका लागि विभिन्न सरोकारवालासँग छलफल तथा राय–सुझाव लिइरहेको छ। यसै क्रममा शिक्षा क्षेत्रका सरोकारवालाले शिक्षा प्रणाली सुधारका लागि समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र व्यवस्थित शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्।
विश्वविद्यालय तथा विद्यालय तहमा परीक्षा समयमै सञ्चालन गरी नतिजा पनि निर्धारित समयमै प्रकाशन गर्न सके शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान गर्न सकिने उनीहरूको धारणा छ।
विदेशमा सेमेस्टर प्रणालीअनुसार विद्यार्थीले शैक्षिक सत्र सुरु हुनुअघि नै परीक्षा, बिदा तथा अन्य शैक्षिक गतिविधिको समयतालिकाबारे जानकारी पाउने व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा पनि प्रभावकारी शैक्षिक क्यालेन्डर लागू गर्नुपर्नेमा जोड दिइएको छ।
त्यस्तै, नेपालको पाठ्यक्रमलाई उद्योग तथा रोजगारी बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ। पाठ्यक्रम निर्माणमा प्राज्ञिक क्षेत्रसँगै उद्योग क्षेत्रका प्रतिनिधि तथा रोजगार बजारका सरोकारवालालाई समेत सहभागी गराउनुपर्ने सुझाव दिइएको छ।
पाठ्यक्रममा सीप विकास, व्यावहारिक अभ्यास तथा परियोजना कार्यलाई प्राथमिकता दिन सके विद्यार्थीलाई अध्ययनपछि रोजगारी बजारमा सहज रूपमा प्रवेश गर्न सहयोग पुग्ने बताइएको छ।
उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य विस्तार गर्दै बजारको आवश्यकताअनुसार पाठ्यक्रम विकास गर्न सके नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सकिने धारणा राखिएको छ। यस्तो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा हबका रूपमा विकास गर्नसमेत सहयोग पुग्ने बताइएको छ।