काठमाडाैँ - काठमाडौँ महानगरपालिकाले घाेषणा अनुसार कार्तिक ४ देखि १६ वटा विद्यालय (केन्द्र)मा एकैपटक ‘फेस्टिभल क्याम्प’ सुरु गरेको छ। सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई दशैँ तिहारबिच छुट्टीको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि क्याम्प सञ्चालन गरिएको हो।
प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको महानगरले जनाएको छ। ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी सहभागी हुने पाँच ठूला विद्यालयमा क्याम्प राखिएको छ। यी विद्यालयमा दैनिक कम्तीमा ७६ वटा कक्षा सञ्चालन हुनेछन्। एउटा केन्द्रमा कम्तीमा १५० जना विद्यार्थीलाई सहभागी गराउन सकिन्छ। विद्यार्थीका लागि यो कार्यक्रम अनिवार्य भने होइन। उनीहरुले अनुकूलता र आवश्यकताका आधारमा स्वतःस्फूर्त कक्षामा सामेल हुन सक्नेछन्।
तोकिएका विद्यालयमा सम्बन्धित वडाका अध्यक्ष, स्रोत शिक्षक, प्रधानाध्यापक, शिक्षकसहितको उपस्थितिमा कार्यक्रम सुरु गरिएको थियो। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, शिक्षा अधिकारी गोविन्द शर्मासहित अधिकारीहरु वडा नं.१७ मा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, थंहिटि पुगेका थिए। सबै विद्यालयलाई अनलाइनमार्फत एउटै स्क्रिनमा जोडेर अन्तरक्रियात्मक उद्घाटन गरिएको थियो।
क्याम्पमा उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयका विद्यार्थीले विगतमा विदाको अवधिलाई उपयोग गर्ने अवसर प्राप्त नगरेको उल्लेख गर्दै अब समय छ, इच्छा छ तर ठाउँ छैन भन्नु नपर्ने गरी अवसर उपलब्ध गराइएको बताइन्। 'अहिले सिक्ने समय हो। यो समयलाई सिक्नकै लागि प्रयोग गर्नुपर्छ। पछि सिक्छु भनेर पनि हुँदैन' उनले भनिन्।
उनले विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्दै दवावमा नभई स्वतःस्फूर्त सिकाइ हुने वातावरणका लागि महानगरपालिका प्रयासरत रहेको बताइन्। सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीका लागि पनि कार्यक्रम तर्जुमा गरिरहेको उनले बताउँदै सामुदायिक सिकाइ केन्द्रको प्रवर्धनमा संस्थागत विद्यालयका विद्यार्थी सहभागी गराउने योजना सुनाइन्।
'सामुदायिक विद्यालयको शैक्षिक नतिजाका बारेमा नकारात्मक टिप्पणी थिए। अवसर र वातावरण नभएको बताइन्थ्यो। महानगरपालिकाले सामुदायिक विद्यालयलाई त्यस ठाउँबाट उठाएको छ' महानगरपालिाका प्रवक्ता नवीन मानन्धरले भने, 'नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेका छौँ। हामीले नतिजा प्राप्त गरेका असल र सफल अभ्यासलाई सिकाइका रुपमा प्रवर्धन गर्नेछौँ।'
सहरी योजना आयोगका सदस्य झाका अनुसार नतिजा सुधारका लागि गएको वर्षबाट प्राप्त नतिजालाई संस्थागत गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको छ। यो कार्यक्रम महानगरपालिकाको गौरव योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत सञ्चालन गरिएको हो। यसको नतिजा हेरेर कार्यक्रमलाई विदाको समयमा पनि निरन्तरता दिइनेछ।
क्याम्पमा सञ्चालन हुने सिकाइको एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना बिद्यार्थीलाई सहभागी गराइनेछ। विहान साढे १० बजेदेखि ३ बजेसम्म गणित, विज्ञान, सामाजिक र स्टिमका परियोजनामा आधारित प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन्। यी कक्षाहरु लेक्चरर विधिमा नभइ क्रियाकलाप, सहसिकाइ र समूहगत सिकाइमा आधारित हुनेछन्। स्टिम शिक्षाशास्त्रको सिद्धान्तका आधारमा कक्षा चल्नेछन्। ३ बजेपछि कम्तीमा १ घण्टा इ-लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, कथा वाचन ९स्टोरी टेलिङ्०, वातावरण शिक्षा, मनोविज्ञान जस्ता विषय अनुभूति गराउने क्रियाकलाप र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। यसबाट सिकाइ प्रवर्धन गर्न नविनतम अभ्यासका लागि वातावरण तयार हुनेछ।
क्याम्पमा अभिनेत्री स्वस्तिमा खड्काकाे पनि सहभागीता रहेकाे थियाे। ‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ। त्यसलाई अरुले विश्वाश नगर्न सक्छन्। अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन। तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छै । त्यसले चाहिँ फरक पार्छ।’ खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भनिन्, ‘तपाईँको रुचि परिवर्तन हुन सक्छ। यो स्वभाविक हो। यसमा चिन्तित हुनु पर्दैन। आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन। नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु। गर्न नसक्ने केही छैन।’
पहिलो दिनको कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले नृत्य प्रस्तुत गरेका थिए। यस्तै खेलकुद, उत्प्रेरणात्मक कक्षासहितका क्रियाकलाप सञ्चालन भएका थिए।