काठमाडौँ– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रुसी राजदूत एलेक्सी भ्लादिमेरोभिकले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल–रुस द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा शिक्षा, खेलकुद, जनशक्ति विकासलगायत पारस्परिक हितका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री पोखरेलले नेपालको जनशक्ति विकासमा रुसी सरकारले गर्दै आएको सहयोग र योगदानप्रति धन्यवाद व्यक्त गरेका थिए।
उनले शिक्षा तथा खेलकुदका क्षेत्रमा नेपाल रुसबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।
मन्त्री पोखरेलले विशेषगरी शिक्षा र खेलकुदमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने धारणा राखेका थिए।
भेटमा रुसी राजदूत भ्लादिमेरोभिकले नेपालका शिक्षा तथा खेलकुद क्षेत्रमा लगानी र सहकार्य गर्न रुसी पक्ष इच्छुक रहेको बताएका थिए।
उनले दुवै देशका लागि लाभदायक हुने सहकार्यका नयाँ क्षेत्र पहिचान गर्दै शिक्षा, खेलकुद र जनशक्ति विकासमा साझेदारी बढाउन सकिने बताएका थिए।
राजदूतले नेपाल रुसबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता क्षेत्रगत सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
भेटमा दुई देशबीच शिक्षा तथा खेलकुद क्षेत्रमा आगामी दिनमा अघि बढाउन सकिने सम्भावित सहकार्यका विषयमा समेत छलफल भएको थियो।