काठमाडाैँ - नियमित विद्यालय नजाने समस्या समाधानका लागि लहान -११ पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु दलित बस्तीका दैलो दैलोमा पुग्ने अभियान सुरु गरिएको छ। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमा अधिकांश दलित विपन्न समुदायका बालबालिकाहरु नै भर्ना भएका हुन्छन्।
पिडरबोनी माविका प्रधानाध्यापक वीरेन्द्रकुमार यादवका अनुसार प्रधानाधयापक भएर आएको तीन महिनाको समयमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरु रहेका पाइएकाे र कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरु अनुपस्थित रहने भएकाले चाहे अनुसारको सुधार गर्न कठिनाइ भएपछि नियमित विद्यालय पठाउन अभियान गरिएकाे हाे।
प्रधानाध्यापक यादवले भने,' लहान-११ पिडरबोनीका राम उद्गार मरिक (डुम) को घरमा पुगेर किन तपाईंका घरका चार जना बालबालिका नियमित विद्यालय जाँदैनन् प्रश्न गर्दा हामी डुम समुदायका बालबालिकाहरु पढेर के गर्ने ? खालको कुराहरु गर्नुहुन्छ। ' उनले डुम समुदायहरु समाजमा हेपिएका,दबिएका छन् त्यसबाट मुक्त हुन शिक्षा नै आवश्यक रहेको सुनाए।
दैलोमा आएर नियमित विद्यालयमा विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरुले आएर दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने रामउद्गार मरिक (डुम) ले प्रतिबद्धता व्यक्त गरेका छन्। ‘डुम समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस पनि भयो।’ उनले भने।
मधेश प्रदेशका डुम समुदाय र मुसहर समुदायका बालबालिकाहरु अहिले पनि नियमित विद्यालय नजाने बाल श्रमिकको रुपमा काम गर्ने बालविवाह हुने गरेकाले डुम र मुसहर समुदायलाई शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रमको आवश्यकता रहेका दलित अगुवा लेखक राजेश राम विद्रोहीले बताए। उनले भने, ‘पिडरबोनी माविका प्रअ लगायत शिक्षकहरुले गरेका प्रयास सार्थक देखियो। यस्तै किसिमको जनचेतना दलित बस्तीमा सामुदायिक विद्यालयहरुले फैलाउन आवश्यक छ।’
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीका अनुसार दलित समुदायहरु रहेका बस्तीलाई ध्यानमा राखेर प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन र दलित बालबालिकाहरुलाई यस वर्षदेखि शैक्षिक सामग्रीको रुपमा कपी पेन्सिल निःशुल्क वितरण गर्ने कार्य अघि बढाएका छौँ। दलित बस्तीहरुमा ४१ वटा निःशुल्क ट्युशन कक्षा पनि चलिरहेका छन्। विद्यार्थीहरुलाई कक्षामा नियमित हाजिर हुन पिडरबोनी माध्यमिक विद्यालयका प्रअ यादवले थालेको यो कार्यलाई ५९ वटै सामुदायिक विद्यालयमा लागू गराउँछौँ।