काठमाडाैँ - धरानस्थित केन्द्रीय प्राविधिक क्याम्पस, हात्तीसारमा शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै विद्यार्थीहरूले थालेको धर्ना १ महिना पूरा भएको छ। स्ववियु सभापति पेशलराज कार्कीको नेतृत्वमा उनीहरुले दैनिक बिहान १० बजेदेखि क्याम्पसको मुख्य गेटमा एक घण्टा धर्ना बस्दै आएका छन्। विद्यार्थीहरूले गत कात्तिक १७ देखि क्याम्पसमा भइरहेका अव्यवस्थापन, कमजोर शैक्षिक वातावरण र पारदर्शिताको अभावले भविष्य नै संकटमा परिरहेको भन्दै आन्दोलन सुरु गरेका थिए।
सभापति कार्कीका अनुसार, संकाय दर्ता, शैक्षिक गुणस्तर, आर्थिक पारदर्शिता, क्याम्पस व्यवस्थापन र स्वास्थ्य बीमामा भएको अनियमितताका कारण विद्यार्थीहरू मारमा परिरहेका छन् जसका कारण आन्दोलन गर्न बाध्य भएको हो। क्याम्पसमा वर्षौंदेखि सञ्चालित बीएससी माइक्रोबायोलोजी र बीएससी न्यूट्रिशन एण्ड डाइटेटिक्स संकाय नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा अहिलेसम्म दर्ता हुन नसक्दा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको उनीहरुको भनाइ छ।

२०६७ सालदेखि टियुअन्तर्गत सञ्चालनमा आएको न्यूट्रिशन एण्ड डाइटेटिक्स संकाय १५ वर्ष बितिसक्दा पनि काउन्सिल मान्यता नपाउँदा विद्यार्थीलाई लाइसेन्स परीक्षा, सरकारी रोजगारी तथा अन्य पेसागत अवसर गुम्न पुगेको आन्दोलनकारीहरूको आरोप छ। यो संकायहरु नेपाल हेल्थ प्रोफेसनल काउन्सिलमा दर्ता हुनु पर्ने उनीहरुको माग छ।
यस्तै स्वास्थ्य बीमाका नाममा विद्यार्थीबाट लिइएको ५०० रूपैयाँको शुल्कबारे कुनै सेवा सुविधा नदिइएको र बीमाका रूपमा कहाँ, कसरी सुविधा पाइन्छ भन्ने स्पष्ट नभएकाले सो रकम बिनासर्त फिर्ता गर्नुपर्ने विद्यार्थीहरूको भनाइ छ। वर्षौंदेखि यस विषयमा आवाज उठाए पनि क्याम्पसले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको सभापति कार्कीले बताए। उनले माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।
क्याम्पस प्रमुख प्राध्यापक बसन्तकुमार राईले विद्यार्थीले उठाएको माग क्याम्पसको हितमा नै भएकोले बारम्बार संवादमा बोलाए पनि नआएको बताए । ‘हामीले सक्ने माग पूरा गर्ने भनेकै छौँ। क्याम्पसका बेतिथिहरु हृोलान् तर तत्कालै त्यसलाई सुधार गरी रिजल्ट निकाल्न नसकिए पनि हामी क्याम्पस सुधार र व्यवस्थापनमा लागिपरेका छौं,’ उनले भने।