काठमाडौँ - अन्तरिक्ष प्रतिष्ठान नेपालले विकास गरेको नानो स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ बुधबार बिहान चीनबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिने भएको छ। नेपाली समयअनुसार बुधबार बिहान ८:४५ बजेदेखि ११:०० बजेभित्र यो स्याटेलाइट चिनियाँ रकेट ‘काइनेटिका-१’ मार्फत् प्रक्षेपण गरिने भएकाे हाे।
यो स्याटलाइटको प्रक्षेपण तयारी पूरा भइसकेको परियोजनाका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले जानकारी दिए। गत असोजमा अधिकारीसहित चार सदस्यीय टोली बेइजिङ पुगेर स्याटेलाइटको अन्तिम गुणस्तर परीक्षण, रकेटसँग एकीकरण र वातावरणीय अनुकूलता जाँचको काम सम्पन्न गरेको थियो। आइतबार नै स्याटेलाइटलाई रकेटमा पूर्ण रूपमा एकीकृत (इन्टिग्रेट) गरिसकिएको छ।
एक किलो २० ग्राम तौलको यो ट्युब आकारको नानो स्याटेलाइटमा दुईवटा उच्च क्षमताका क्यामेरा जडान गरिएको छ। यी क्यामेराले नेपालको वनस्पति आवरण र जलस्रोतको वास्तविक समयको तस्वीर तथा डेटा संकलन गर्नेछन्। स्याटेलाइटको अर्को महत्त्वपूर्ण विशेषता भनेको भूकम्पको पूर्वसूचना प्रणाली हो।
भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्गहरू मापन गरी पूर्वसूचना दिने प्रविधि यसमा समावेश गरिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए। साथै, स्याटेलाइटमा विद्युतीय चुम्बकीय प्रणाली (इलेक्ट्रोम्याग्नेट) जडान गरिएको छ, जसले पृथ्वीबाटै स्याटेलाइटको गति रोक्न र कक्ष परिवर्तन गर्न सम्भव बनाउँछ। मूल योजना अनुसार यो स्याटेलाइट कम्तीमा ५ वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको थियो। तर, हाल सूर्यको २५औँ सौर्य चक्र (सोलार साइकल) आफ्नो उच्चतम बिन्दु (सोलार म्याक्सिमम) मा पुगेकाले सौर्य विकिरणको तीव्रता अत्यधिक रहने अनुमान छ।

यसले स्याटेलाइटको कक्षीय आयु (अर्बाइटल लाइफटाइम) छोट्याउने जोखिम रहेकोले अब कम्तीमा डेढ वर्षसम्म मात्र सञ्चालन हुने प्रक्षेपण टोलीको अनुमान छ। यो परियोजना एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। परियोजनामा चितवनका चेपाङ समुदायका बालबालिकालाई पनि संलग्न गराइएको थियो।
स्याटेलाइटबाट प्रसारित सबै डेटा विश्वभरका वैध एमेच्योर रेडियो फ्रिक्वेन्सी लाइसेन्सधारी व्यक्ति तथा संस्थाले निःशुल्क प्राप्त गर्न र उपयोग गर्न सक्नेछन्। ‘स्लिपर्स टु स्याट’ नेपालबाट निजी क्षेत्रको समन्वयमा बनाइएको तेस्रो स्याटेलाइट हो।