काठमाडौँ - त्रिभुवन विश्वविद्यालयमा नेकपा निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ। पूर्वसहमति कार्यान्वयन नभएकाले उपकुलपति, रेक्टरलगायतका कार्यालयमा क्रान्तिकारीले शुक्रबार तालाबन्दी गरेको हो।
पूर्वसहमति कार्यान्वयन नभएकाले उपकुलपति, रेक्टरलगायतका कार्यालयमा शुक्रबारदेखि तालाबन्दी गरिएको क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष दिनेश ऐरले बताए। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउने सहमति कार्यान्वयन नभएकाले तालाबन्दी गरिएको क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष ऐरले बताए।
त्रिविले बजेट, कार्यक्रममार्फत आत्मनिर्भर कार्यक्रमका रूपमा सञ्चालित यी ४ विषयको विभाग बनाएको थियो। क्रान्तिकारीले शुल्क घटाउन माग राख्दै यसअघि ३४ दिनसम्म आन्दोलन गरेपछि सहमति भएको थियो।उपकुलपति दीपक अर्यालले सहमति कार्यान्वयन प्रक्रियामा रहेको अवस्थामा तालाबन्दी गरिएको बताए । ‘चार विभागको शुल्क समायोजन गर्ने भनेर सम्झौता भएको थियो। यो आर्थिक प्रशासनसँग सम्बन्धित विषय हो। प्रक्रियामा नै छ। आर्थिक पक्षसँग जोडिएको विषयमा निर्णय लिँदा धेरैतिर त्यसको असर पर्न सक्ने हुँदा विस्तृत अध्ययन आवश्यक हुन्छ,’ उनले भने, ‘शुल्क समायोजन प्रक्रिया जारी नै रहँदा हतारमा तालाबन्दी गरे ।’

विद्यार्थी संगठनलाई ताला खोल्न आग्रह गरिएको र अटेरी गरे प्रशासनको सहयोग लिएर खोलिने उपकुलपति अर्यालको भनाइ छ। ‘सर्वोच्चले तालाबन्दी नगर्नु/नगराउनु भन्ने आदेश दिएको छ। अटेरी गरे खोलिन्छ,’ उनले भने, ‘सधैँ तालाबन्दी गरिराख्न मिल्दैन। उपकुलपतिले काम गर्ने कार्यकक्ष नै बन्द भए माग कसरी पूरा गर्ने ?’
गत असारमा एक महिनासम्म तालाबन्दी हुँदा खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भन्ने सर्वोच्चको अन्तरिम आदेश थियो। न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएपछि क्रान्तिकारीसहित तालाबन्दी गर्नेहरूले आफैं खोलेका थिए।
अधिवक्ता महेश भट्टराईले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिस्ट्रार कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। त्यति बेला आंशिक प्राध्यापक संघ, अखिल क्रान्तिकारी र नेविसंघका नाममा तालाबन्दी भएको थियो। उपकुलपतिसहित रजिस्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा छुट्टाछुट्टै तालाबन्दी थियो।क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष ऐर सहमति कार्यान्वयनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएको बताउँछन्। विश्वविद्यालय सुधारका लागि तालाबन्दी गरेर दबाब दिइएको उनको भनाइ छ।
क्रान्तिकारीले विभागहरूको पठनपाठन बिहानी सत्रमा पनि सञ्चालन गर्न माग राखेको छ। ‘सहमति भइसकेको विषय कार्यान्वयनमा नल्याउँदा विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सहमतिबमोजिम नै यसै शैक्षिक सत्रमा प्रथम सेमेस्टरको भर्नासँगै पठनपाठनको गतिविधि नयाँ भवनमा गर्ने गरी पुनः भर्नाको सूचना नखुलाएसम्म तालाबन्दी गरिएको जानकारी गराउँछौ।’