काठमाडाैँ - लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षामा भनसुन चल्न नहुने बताएका छन्। उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा ‘लोकसेवा परीक्षा अनलाइन तयारी कक्षा सञ्चालन उद्घाटन कार्यक्रम’ मा लोकसेवा परीक्षामा भनसुन भएमा जेहेन्दार विद्यार्थीले अवसर नपाउने र यस किसिमको पक्षपात, विभेद र अन्याय हुन नहुने बताएका हुन्।
'लोकसेवा परीक्षामा कुनै किसिमको चलखेल हुँदैन, प्रस्तुति राम्रो हुनेले अवसर पाउँछन्' उनले भने, 'सामाजिक न्यायका लागि आरक्षणको व्यवस्था गरिएको छ, हाम्रो समाज जस्तो छ, त्यस्तै निजामती कर्मचारी क्षेत्रमा चित्र आउनुपर्छ भनेर यो व्यवस्था गरिएको हो।'
आदिबासी जनजाति कोटा र खुला कोटामा परीक्षा दिएका आदिबासी विद्यार्थीले पनि खुलाबाटै टप गरेको उदाहरण रहेको बताउँदै उनले भने, 'लोकसेवामा भनसुन चल्दैन, कापी चेक गर्नेलाई कसको कापी चेक गरेको हो भन्ने पनि थाहा हुँदैन, लोकसेवाको जाँच निष्पक्ष छ, ढुक्क भएर तयारी गर्नुस्।' कापी चेक गर्ने विज्ञले ४० प्रतिशतभन्दा कम र ७० प्रतिशतभन्दा बढी नम्बर दिँदा भने कारणसहित दिनुपर्ने उनको भनाइ छ।

कर्मचारी क्षेत्र मुलुकको स्थायी सरकार भएको चर्चा गर्दै उनले घुस्याहा र फौजदारी अपराध गर्ने कर्मचारीलाई मात्र बिचैमा हटाउन सकिने व्यवस्था रहेको बताए। कर्मचारीहरु सेवानिवृत्त हुँदा पनि सुविधाको व्यवस्था रहेको, कर्मचारीको निधन हुँदा घरका परिवारको उत्तराधिकारवाला सदस्यले समेत पेन्सन पाउने व्यवस्था हुँदा पनि कर्मचारीले घुस खानु राष्ट्रप्रति गद्दारी गरेको ठहरिने उनको भनाइ छ।
केही कर्मचारीको गल्तीले सिङ्गो कर्मचारी क्षेत्रको बदनाम हुने हुनाले कर्मचारीहरु इमानदार र देश र जनताको सेवामा समर्पित हुनुपर्ने उनको सुझाव छ। जनताको घरदैलोको सरकार भनेकै कर्मचारी भएको बताउँदै उनले भने, 'प्रधानमन्त्री, मन्त्रीहरु दूरदराजका जनताको घरदैलोमा पुग्नु हुँदैन, जनताको घरदैलोमा पुग्ने भनेकै सरकारी कर्मचारी हो, कर्मचारीले गर्ने काम र निर्णय सरकारको काम र निर्णय हुन्छ, त्यसैले पनि कर्मचारी जनताप्रति बढी जिम्मेवार हुन सक्नुपर्छ।'