काठमाडाैँ - त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको डिन कार्यालयमा अस्कल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध विद्यार्थीले तोडफोड गरी क्षति पुर्याएका छन्।बीएससीको पुन: प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थी समूहले तोडफोड गरेको डिन कार्यालयले जनाएको छ।
अस्कल क्याम्पसका स्ववियु गोपालबहादुर शाहीको नेतृत्वमा आएको ८/९ जनाको टोलीले डिन शंकर खनालको कार्यकक्षसहित डिन कार्यालयमा तोडफोड गरेको एक कर्मचारीले बताए। ‘कुर्ची, टेबल, सिसा र गमलाहरु फुटाए। डिन सरलाई पनि गमला उठाएर हान्न खोजेका थिए,’ उनले भने, ‘सहायक डिनलगायत अन्यले रोकेपछि जोगिए ।’ तोडफोडमा संलग्नहरु भागेपछि प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी पुगेको थिए।
सचिवलगायत अस्कल क्याम्पसको स्ववियु एमाले निकट अनेरास्ववियुले जितेको थियो। स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थीको माग लिएर अनेरास्ववियु समर्थित विद्यार्थी डिन कार्यालय पुगेपनि तोडफोडबारे जानकारी नभएको बताए। ‘गोपाल शाहीको नेतृत्वमा विद्यार्थी गएपनि उनीहरु तोडफोडमा सहभागी भएका छैनन्,’ उनले भने। प्रत्यक्षदर्शीहरुले भने शाहीलगायत अनेरास्ववियुबाट स्ववियुमा निर्वाचित अस्कल क्याम्पसका विद्यार्थीहरुले तोडफोड गरी क्षति पुर्याएको बताएका छन्।
डिन शंकर खनालले विद्यार्थीहरुको एक समूहले तोडफोड गरेको बताए। ‘विद्यार्थी त म चिन्दिनँ। अस्कल क्याम्पसका हुन भन्ने सुनेको हो,’ उनले भने, ‘घटनाबारे त्रिवि र प्रहरीलाई जानकारी गराएको छाैँ।’ डिन कार्यालयले गत मंसिर ६ गते बीएससीको प्रवेश परीक्षा सञ्चालन गरेको थियो। परीक्षामा ९ हजार विद्यार्थी सहभागी थिए भने ८ हजार विद्यार्थी उत्तिर्ण भएर भर्ना भइसकेका छन्। अस्कल स्ववियु र अनेरास्ववियुले भने पुन: प्रवेश परीक्षाको माग राख्दै आएको छ।
डिन खनालले यसपटक ढिला गरी प्रवेश परीक्षा भएको र भर्ना हुने सिट पनि पूरा भएकाले पुन: प्रवेश परीक्षा सञ्चालन नहुने निर्णय भएको बताए। ‘पुन: प्रवेश परीक्षा नहुने निर्णय डिन अफिसले नभई त्रिविले नै गर्ने हो,’ उनले भने, ‘यस डिन कार्यालयको कुनै संग्लनता छैन। तर तोडफोड गरियो।’ असोजमा हुने प्रवेश परीक्षा जेन-जी आन्दोलनका कारण यसपटक मंसिरमा सञ्चालन भएको थियो। ढिला गरी प्रवेश परीक्षा सञ्चालन गर्दा पर्याप्त विद्यार्थी सहभागी भएको डिन कार्यालयले जनाएको छ।