म्याग्दी - बेनीमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियम सिकाउनका लागि प्रहरी र विद्यार्थीको सहकार्य शुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दी, जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा मङ्गलबार बेनीमा ट्राफिक सचेतना शुरु गरिएको हो।
प्रकाश माध्यमिक विद्यालयको कक्षा ९ का विद्यार्थीहरूले मङ्गलबार बिहान १० बजे देखि बेनी बजार क्षेत्रमा ट्राफिक नियमबारे सचेतना गराउँदै हिँडेका छन्। विद्यार्थी ट्राफिक स्वयंसेवक बनेर सदरमुकाम बेनीको चोकमा खटिएका छन् । विद्यार्थीहरूले स्वयंसेवक बनेर सडक प्रयोगकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउँदै नम्र भएर अनुरोध गर्ने गरेका छन्।
प्रकाश माविका २० छात्रछात्राले पार्किङ, भीडभाड र सवारीचाप हुने समयमा पैदलयात्रीलाई सहज, एकतर्फी नियमको पालना, विद्यालयको समयमा विद्यार्थीलाई सहयोग गर्ने गरी खटिएका छन्। जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियानको सुरुवात गरेको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले बताए।
उनले भने, 'विद्यार्थीको पढाइलाई असर नगर्ने गरी हामीले सहकार्य गरेका छौँ, यो अभियान निरन्तर र अन्य विद्यालयसँग समेत जोडिनेछ। बेनी बजार क्षेत्र साँघुरो बजार भएकोले एकतर्फी सञ्चालन र पार्किङ नियम उल्लङ्घन भएको, सडक आसपासका पैदलयात्री आवतजावत गर्ने, एकतर्फी रुटको उल्लङ्घनमा विद्यार्थीसँगै ट्राफिक र प्रहरीलाई परिचालन गरिएको हो।'
हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा स्वयंसेवकको जिम्मेबारीमा खटिएका विद्यार्थीलाई सचेतनामूलक जानकारी समेत गराइएको छ। ट्रफिक प्रहरी प्रमुख असई परियारका अनुसार ट्राफिक नियमको पालना गराउन स्वयंसेवकको भूमिका राम्रो देखिन्छ, बिनाबर्दी ट्राफिकको काम गरिरहेकाको साथमा प्रहरी समेत हुन्छन्।
सचेतनामूलक अभियानमा बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल सहित नगर प्रहरीको समेत उपस्थिति रहेको छ। आधारभूत ट्राफिक तालिम दिएर सदरमुकाम बेनीमा निजी तथा सामुदायिक विद्यालयसँग समेत सहकार्य गर्ने बताइएको छ।