काठमाडौँ- नेपालका विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले अन्तर्राष्ट्रिय द्वन्द्व, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महिला हिंसा र विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै संयुक्त प्रेस वक्तव्य जारी गरेका छन्।
शैक्षिक क्षेत्रको आमूल रूपान्तरण, जनजीविका, जनतन्त्र र राष्ट्रियताको पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूले विश्व परिस्थितिले नेपाली जनजीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरेका छन्।
इजरायल–इरान तनावप्रति चिन्ता र युद्ध अन्त्यको मागवक्तव्यमा इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण हजारौं मानिसको ज्यान गएको तथा विश्व शान्ति संकटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। विद्यार्थी संगठनहरूले कुनै पनि सार्वभौम राष्ट्रमाथि हुने आक्रमणको विरोध गर्दै विश्व समुदायलाई युद्ध अन्त्य गरी शान्ति स्थापना गर्न कूटनीतिक पहल बढाउन आग्रह गरेका छन्।
मध्यपूर्वमा रहेका नेपाली श्रमिकको सुरक्षामा पहल गर्न आग्रह
विद्यार्थी संगठनहरूले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिक असुरक्षित बनेको उल्लेख गर्दै नेपाल सरकारलाई आवश्यक कूटनीतिक पहल गरी जोखिमयुक्त क्षेत्रबाट नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण बनाउन माग गरेका छन्।
पेट्रोलियम मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न मागवक्तव्यमा युद्धको बहानामा पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै त्यसले जनजीवन थप कष्टकर बनाएको उल्लेख छ। विद्यार्थी संगठनहरूले सरकारले कर घटाएर मूल्य समायोजन गर्नुपर्ने र कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने व्यवसायीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
महिला हिंसा रोक्न कडा कदम चाल्न आग्रह
पछिल्लो समय महिला हिंसाका घटनाहरू बढ्दै गएको भन्दै उनीहरूले सुर्खेतकी विनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनालाई स्मरण गर्दै यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिन सरकारसँग जोडदार माग गरेका छन्। महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी कानुनी र सामाजिक पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।
उक्त संयुक्त वक्तव्यमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु, अखिल (छैटौँ), अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघसहित विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा संयोजकहरूले हस्ताक्षर गरेका छन्।