कालीकोट - माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित र निष्पक्ष बनाउने उद्देश्यले ‘होम सेन्टर’ परिवर्तन गरिएपछि कालीकोटका विद्यार्थी र अभिभावक समस्यामा परेका छन्। आफूले अध्ययन गरेको नजिकको विद्यालयको सट्टा टाढा परीक्षा केन्द्र तोकिएपछि आर्थिक भार, मानसिक तनाव तथा सुरक्षा जोखिम बढेको भन्दै व्यापक गुनासो उठेको छ।
खाडाचक्र–३ का अभिभावक नवराज विश्वकर्माका अनुसार वर्षभरि पढाइ सुधारमा ध्यान दिनुपर्ने निकायहरूले परीक्षा नजिकिँदा मात्रै ‘होम सेन्टर’ परिवर्तन गरेर विद्यार्थीलाई अनावश्यक दुःख दिएका छन्। 'परीक्षाका बेला विद्यार्थीलाई सामल (खाद्यान्न) बोकेर टाढा बस्न पठाउनु अत्यन्तै असहज छ,' उनले भने।
विद्यार्थीहरू परीक्षा केन्द्र नजिक कोठा खोज्दै भौंतारिनुपरेको छ भने अभिभावकहरूलाई आर्थिक बोझ थपिएको छ। विशेषगरी छात्राहरूको सुरक्षालाई लिएर अभिभावकहरू चिन्तित छन्। विगतमा परीक्षा दिन गएका छात्रामाथि यौन दुर्व्यवहारका घटनासमेत घटिसकेकाले यस्तो निर्णयले जोखिम झनै बढाएको सरोकारवालाहरू बताउँछन्।
अधिकारकर्मीहरूका अनुसार परीक्षा केन्द्र टाढा हुँदा बसोबास, खानपानको असुविधासँगै हिंसा र दुर्व्यवहारको सम्भावना पनि बढ्ने गर्दछ। मनोविमर्शकर्ता अपेक्षा सिंह बस्नेतले भनिन्, 'परीक्षाको समयमा छात्राहरू बढी जोखिममा हुन्छन्, त्यसैले यस्तो निर्णयले उनीहरूको मानसिक अवस्था र सुरक्षामा गम्भीर असर पार्न सक्छ।'
यस वर्ष कालीकोटका ७६ माध्यमिक विद्यालयका विद्यार्थीहरूले जिल्लाभरिका २० परीक्षा केन्द्रबाट एसईई दिनुपर्नेछ। कतिपय दुर्गम क्षेत्रका विद्यार्थीलाई मान्मजस्ता सदरमुकामसम्म पुग्नुपर्ने अवस्था छ, जसले यात्रा, बसोबास र खानपानमा थप कठिनाइ सिर्जना गरेको छ।
यद्यपि, शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईंले भने परीक्षा मर्यादित बनाउन ‘होम सेन्टर’ परिवर्तन गरिएको स्पष्ट पारे। राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार चिट चोरीजस्ता अमर्यादित गतिविधि रोक्न, वास्तविक सिकाइ मूल्यांकन गर्न र पठन संस्कृतिको विकास गर्न यस्तो निर्णय गरिएको उनले बताए।
उनका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले भौतिक पूर्वाधार, फर्निचर, खानेपानी, शौचालयलगायतका आधारमा परीक्षा केन्द्र निर्धारण गरेको हो। भूगोलका कारण केही विद्यार्थीलाई असहज भएको स्वीकार्दै सकेसम्म पायक पर्ने केन्द्र मिलाउने प्रयास गरिएको उनले जानकारी दिए।
आउँदो बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा कालीकोटबाट कुल ३ हजार ७ सय १० विद्यार्थी सहभागी हुँदैछन्। जसमा नियमिततर्फ २ हजार ९ सय ६७, ग्रेडवृद्धितर्फ ६ सय ७९ र प्राविधिक धारतर्फ ७१ विद्यार्थी रहेका छन्।
स्थानीय तह र सरोकारवालाहरूले परीक्षा मर्यादित बनाउने नाममा विद्यार्थीलाई अनावश्यक सास्ती दिने कार्य पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।