काठमाडौँ- विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुन अब केहि दिन बाँकी रहदा पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र निजी मुद्रण संस्थाले विद्यालय तहका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित जिल्लामा पठाउन थालेका छन्।
नयाँ शैक्षिक सत्र बैशाख १५ गते देखि सुरु हुदैछ। सामुदायिक विद्यालयका विद्यार्थीले यस वर्ष कक्षामा भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने अवस्था देखिएको छ।अधिकांश जिल्लामा पुस्तक पुगिसकेको केहीमा पुग्ने क्रममा रहेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ।
चैतको अन्तिम सातासम्म पुस्तक सबै जिल्लामा पुगिसक्ने छ। यस पटक सरकारले कक्षा ३ र ५ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षालाई दिएको हो। कक्षा १, ३ र ४ का विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी निजी मुद्रण संस्थालाई दिइएको छ।
सरकारी तथ्याङ्क अनुसार जनक शिक्षाले एक करोड ७० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । निजी मुद्रण संस्थाले भने ६० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हुन्छ। दुवै निकायले आफ्नो जिम्मेवारीमा रहेको पुस्तक छापेर ढुवानीसमेत सुरु गरिसकेका छन्।
जनक शिक्षाले पुस्तक छापेर चैत १६ गतेबाट ढुवानीसमेत सुरु गरिसकेको छ। केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार सानोठिमीस्थित केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका आठसमेत गरेर हाल ९ स्थानबाट पुस्तक बिक्री भइरहेको छ।
मुलुकभरका एक हजार २५८ वटा अधिकृत विक्रेताले आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट पुस्तक लगेको पौडेलले जानकारी दिए।विक्रेतालाई सहज होस् भनेर शनिबार पनि सानोठिमीस्थित कार्यालयबाट पुस्तक बिक्री खुला राखिएको उनले बताए।
पुस्तक छपाइ र वितरणको विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शुक्रबार जनक शिक्षा पुगेर जानकारी लिएका थिए।केही वर्षसम्म विद्यालय तहमा पाठ्यपुस्तक अभावको ठुलो समस्या रहने गरेकामा पछिल्ला केही वर्षदेखि भने सहज बन्दै गएको छ।