काठमाडौँ- धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित सरस्वती माध्यमिक विद्यालय केही वर्षअघि विद्यार्थी अभावका कारण बन्द हुने संघारमा पुगेको थियो। तर शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायको सामूहिक प्रयासले आज त्यही विद्यालय माध्यमिक तह सञ्चालन गर्न सफल भएको छ।
२०४६ सालमा स्थापना भएको विद्यालयमा २०७६ सालसम्म आइपुग्दा विद्यार्थी संख्या घटेर केवल १८ जनामा सीमित भएको थियो। द्वन्द्व, बसाइँसराइ र घट्दो विद्यार्थी सङ्ख्याका कारण विद्यालयलाई अन्य विद्यालयसँग गाभ्नुपर्ने अवस्था सिर्जना भएको थियो।
विद्यालयको अवस्था बदल्ने मोड भने २०७७ सालमा आयो। सोही विद्यालयका पूर्वविद्यार्थी हेमचन्द्र विश्वकर्मा प्रधानाध्यापकका रूपमा सरुवा भएर आएपछि विद्यालय जोगाउने अभियान सुरु भयो। विद्यालय बन्द हुन नदिने उद्देश्यसहित शिक्षक, अभिभावक र सरोकारवाला निकाय एकजुट भए र घरदैलो भर्ना अभियान सञ्चालन गरे।
प्रधानाध्यापक विश्वकर्माका अनुसार विद्यालयमा सुशासन, पारदर्शिता र शिक्षकको जवाफदेहितालाई प्राथमिकता दिइयो। पाँच वर्षको योजनासहित सुरु गरिएको अभियानले अपेक्षाभन्दा राम्रो परिणाम दियो। बन्द हुने अवस्थामा पुगेको विद्यालय अहिले माध्यमिक विद्यालयमा रूपान्तरण भएको छ।
विद्यालय बन्द भए यस क्षेत्रका बालबालिकाले वैकल्पिक विद्यालय पुग्न झण्डै दुई घण्टा पैदल हिँड्नुपर्ने अवस्था थियो। यही चिन्ताले अभिभावकहरूलाई विद्यालय बचाउने अभियानमा सक्रिय बनायो। विद्यालय व्यवस्थापन समिति र समुदायको निरन्तर प्रयासपछि २०७८ सालमा कक्षा ६ सञ्चालन गरियो र विद्यार्थी सङ्ख्या विस्तार हुँदै गयो।
अहिले विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत छन्। पढाइको गुणस्तर सुधारिएपछि अन्य विद्यालयमा लैजान खोजिएका बालबालिकासमेत यही विद्यालयमा अध्ययन गर्न थालेका छन्।विद्यालय पुनर्जागरणमा तमोर कोरिडोर सडकको निर्माणले पनि सहयोग पु¥याएको छ। यातायात पहुँच विस्तार भएसँगै बसाइँसराइको दर घटेको छ भने छिमेकी जिल्ला तेह्रथुमबाट समेत विद्यार्थी भर्ना हुन थालेका छन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन भण्डारीका अनुसार समुदायको आर्थिक सहयोगमा निजी स्रोतका शिक्षक व्यवस्थापन गर्दै माध्यमिक तह सञ्चालन गरिएको हो। अभिभावकहरूको सहयोगबाट करिब १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ, जसको ब्याजबाट शिक्षकको सेवा सुविधा व्यवस्थापन गरिँदै आएको छ।
यसै शैक्षिक सत्रदेखि विद्यालयले औपचारिक रूपमा माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त गरेको छ। यद्यपि आवश्यक शिक्षक दरबन्दी अभावका कारण अझै पनि निजी स्रोत, दातृ सहयोग तथा संघीय अनुदानबाट शिक्षक व्यवस्थापन भइरहेको छ।
चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले सरस्वती माध्यमिक विद्यालयको उदाहरणले ग्रामीण क्षेत्रका विद्यालयहरू पनि समुदायको सक्रियता र शिक्षकको प्रतिबद्धताले पुनर्जीवित हुन सक्छन् भन्ने सन्देश दिएको बताए। उनका अनुसार विद्यालयको सफलता शिक्षा सुधारमा स्थानीय तह, शिक्षक र समुदायको सहकार्यको उत्कृष्ट नमुना बनेको छ।
(गोरखापत्रवाट साभार)