काठमाडौँ- गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जिल्लाको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीपछि २८५ विद्यार्थी सम्पर्कविहीन भएका छन् भने १६ शिक्षक तथा कर्मचारी बेपत्ता भएका छन्। एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नेतृत्वमा युनिसेफ, सेभ द चिल्ड्रेन र शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको संयुक्त टोलीले गरेको द्रुत मूल्यांकनअनुसार बाढीबाट कम्तीमा ४० विद्यार्थीले आफ्ना दुवै अभिभावक गुमाएका छन् वा दुवै अभिभावक सम्पर्कविहीन छन्। यसले बाल संरक्षण र उनीहरूको शिक्षालाई निरन्तरता दिने चुनौती थप गम्भीर बनाएको प्रतिवेदनमा उल्लेख छ।
चार विद्यालय पूर्ण रूपमा नष्ट
बाढीले रसुवाका चार विद्यालय पूर्ण रूपमा नष्ट गरेको छ। गोसाइँकुण्ड गाउँपालिका–२ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय, उत्तरगया गाउँपालिका–४ को मालिका देवी आधारभूत विद्यालय, उत्तरगया–१ को चिप्लेटी आधारभूत विद्यालय र उत्तरगया–५ बेत्रावतीस्थित मोडर्न ट्रिनिटी इङ्लिस स्कूल बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५ विद्यार्थी र ६ शिक्षक सम्पर्कविहीन छन्। मालिका देवी आधारभूत विद्यालयका १८ विद्यार्थीमध्ये ११ जना बेपत्ता र सात जना विस्थापित भएका छन्।
मोडर्न ट्रिनिटी इङ्लिस स्कूलका प्रधानाध्यापक सुरज डंगोलको बाढीमा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार नीलकण्ठ माध्यमिक विद्यालयका करिब २०० विद्यार्थी, गोसाइँकुण्ड इङ्लिस स्कूलका १९ विद्यार्थी, टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २५ विद्यार्थी र मोडर्न ट्रिनिटी इङ्लिस स्कूलका १० विद्यार्थी सम्पर्कविहीन छन्।
३ हजारभन्दा बढी बेपत्ता
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भदौ २२ गतेसम्म गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो।
कार्यालयका अनुसार १,३९३ स्थानीय, १,२८६ अन्य जिल्लाका नागरिक र २६८ विदेशी पर्यटक गरी कुल ३,११४ जना बेपत्ताको सूचीमा छन्। सो अवधिसम्म १६९ शव फेला परेका छन्। तीमध्ये ६ जनाको मात्र सनाखत भएको र १६३ शवको पहिचान हुन बाँकी रहेको प्रशासनले जनाएको छ।
बाढीबाट जिल्लामा करिब १,५०० निजी घर, आठ जलविद्युत् आयोजना, ४१ किलोमिटर सडक, छ पक्की पुल, आठ ट्रस तथा बेली पुल र १० झोलुङ्गे पुलमा क्षति पुगेको छ। विभिन्न विद्यालय, गुम्बा तथा अन्य आश्रयस्थलमा ७३३ जना विस्थापित आश्रित रहेका छन्।
बालबालिकाको संरक्षणमा विशेष ध्यान दिन सुझाव
द्रुत मूल्यांकन प्रतिवेदनले विद्यालय नष्ट भएका तथा अभिभावक गुमाएका बालबालिकाका लागि सुरक्षित छात्रावासको व्यवस्था गरी अध्ययनलाई निरन्तरता दिन सुझाव दिएको छ।
त्यस्तै, विद्यालयमा सञ्चालन भइरहेका अस्थायी आश्रय केन्द्र अन्यत्र सार्ने, बालबालिकालाई मनोसामाजिक परामर्श तथा आवश्यक शैक्षिक सामग्री तत्काल उपलब्ध गराउने र मानव तस्करी तथा बालश्रमको जोखिमबाट जोगाउन विशेष निगरानी बढाउन सिफारिस गरिएको छ।
विद्यालय सञ्चालनमा फर्काउने तयारी
प्रतिवेदनअनुसार नौकुण्ड गाउँपालिकामा भदौ ११ गतेदेखि र कालिका गाउँपालिकामा भदौ २२ गतेदेखि विद्यालय सञ्चालनमा आइसकेको छ।
उत्तरगया, आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा भने भदौ २४ देखि २६ गतेभित्र पठनपाठन सुचारु गर्ने तयारी गरिएको छ।
स्थलगत मूल्यांकन टोलीको संयोजन शिक्षा विभागका निर्देशक डा. श्यामप्रसाद आचार्यले गरेका थिए। टोलीमा युनिसेफका ई. डोरबहादुर योगी, शिक्षा विभागका ई. विष्णुप्रसाद पौडेल र ई. सुरज पराजुली, शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका ई. यशव खड्का तथा सेभ द चिल्ड्रेनका ई. नवीन चौधरी सहभागी थिए।
विभागले स्थानीय तहबाट प्राप्त हुने अद्यावधिक विवरणका आधारमा तथ्यांकमा केही परिवर्तन हुन सक्ने जनाएको छ।