काठमाडौँ- न्यून पारिश्रमिकमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यालय कर्मचारी, लेखापाल तथा बालविकास सहजकर्तालाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको थप सेवा–सुविधा कटौती नगर्न बागलुङको निसीखोला गाउँपालिकासँग आग्रह गरिएको छ।
विद्यालयमा बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाउनेदेखि विद्यालयको प्रशासनिक, लेखा तथा दैनिक व्यवस्थापनसम्मका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीको सेवा-सुविधा कटौती गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो।
निसीखोला गाउँपालिकाले यसअघि कार्यालय सहयोगी, बालविकास सहजकर्ता तथा विद्यालय लेखापाललाई सरकारले तोकेको सुविधामा थप गरी पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो। तर, पछिल्लो समय उक्त थप सुविधा कटौती गरिएपछि कर्मचारीहरू प्रभावित भएको जनाइएको छ।
न्यून पारिश्रमिकमा काम गरिरहेका विद्यालय कर्मचारी तथा बालविकास सहजकर्तालाई थप सुविधा उपलब्ध गराउने पालिकाको विगतको निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरिएको छ।
सेवा–सुविधामा गरिएको कटौतीले कर्मचारीको मनोबलमा असर पर्न सक्ने भन्दै उनीहरूको योगदानलाई ध्यानमा राखेर विगतमा उपलब्ध गराउँदै आएको सुविधा पुनः कायम गर्न निसीखोला गाउँ कार्यपालिकासमक्ष अनुरोध गरिएको छ।
विद्यालयको प्रशासनिक तथा शैक्षिक वातावरण सञ्चालनमा विद्यालय कर्मचारी, लेखापाल र बालविकास सहजकर्ताको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूको सेवा–सुविधा थप व्यवस्थित र सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको छ।