काठमाडौँ- भोटेकोशी बाढीका कारण धादिङका गल्छी, बेनिघाट रोराङ र गजुरी गाउँपालिकाका विभिन्न विद्यालयमा ठूलो क्षति पुगेको प्रारम्भिक मूल्यांकनले देखाएको छ।
र्यापिड निड एसेसमेन्ट टोलीले प्रभावित विद्यालयमा स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा प्रारम्भिक बालविकास केन्द्र, विद्यालय भवन, प्रयोगशाला, शैक्षिक सामग्री, खेलकुद सामग्री तथा खानेपानी पूर्वाधारमा क्षति पुगेको उल्लेख छ।
शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गरिएको अध्ययनले प्रभावित विद्यालयको अवस्था, तत्काल आवश्यक सहयोग तथा विद्यालय पुनःसञ्चालनका सम्भावित उपायबारे तथ्यांक संकलन गरेको हो।
वागेश्वरीमा ईसीडी केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त
गल्छी गाउँपालिकास्थित वागेश्वरी माध्यमिक विद्यालयको पहिलो तलासम्म बाढी पसेपछि त्यहाँ सञ्चालित प्रारम्भिक बालविकास केन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
बाढीबाट ईसीडी केन्द्रसँगै प्रयोगशाला, शैक्षिक सामग्री, खेलकुदका सामान, विद्यार्थीका झोला, पाठ्यपुस्तक र स्टेशनरीसमेत नष्ट भएका छन्।
प्रतिवेदनमा बाढीका बेला साना बालबालिकाले विद्यालयमा रहेका झोला तथा अन्य सामग्री छाडेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको उल्लेख छ।
टोलीले प्रभावित बालबालिकाका लागि झोला, पाठ्यपुस्तक, स्टेशनरी र फर्निचर तत्काल उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ। त्यस्तै कक्षाकोठा मर्मत, रंगरोगन तथा बालबालिकाका लागि मनोसामाजिक परामर्श आवश्यक रहेको औंल्याइएको छ।
अम्लेश्वर गुरुकुलमा विद्यालय सञ्चालन कठिन
गल्छी गाउँपालिकाकै अम्लेश्वर गुरुकुलको भवन बाढीले पुरिएपछि सोही स्थानमा विद्यालय पुनः सञ्चालन गर्न कठिन भएको प्रतिवेदनमा उल्लेख छ।
सक्सेस एकेडेमीको परिसर तथा चमेनागृहमा समेत क्षति पुगेको छ। विद्यालयका सात जना विद्यार्थीका अभिभावक बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ।
नुवाकोटबाट विद्यालय आउने विद्यार्थीलाई समेत आवतजावतमा समस्या भएको छ। काठमाडौँ विश्वविद्यालयको समन्वयमा विद्यार्थीका लागि काउन्सिलिङसहित विद्यालय सञ्चालनको तयारी भइरहेको जनाइएको छ।
होल्डिङ सेन्टरमा १२० जना, ३६ बालबालिका विद्यालय जान थाले
धादिङ बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा हाल १२० जना बसोबास गरिरहेका छन् भने १८३ जनाले दैनिक भोजन गरिरहेका छन्।
प्रतिवेदनअनुसार त्यहाँ रहेका ३६ जना बालबालिकाले विद्यालय जान सुरु गरिसकेका छन्।
बेनिघाट रोराङमा विद्यालय भवन भत्कियो
बेनिघाट रोराङ गाउँपालिकास्थित बुद्धिविकास आधारभूत विद्यालयको पश्चिमतर्फको भवन आधा भत्किएको छ। बाँकी संरचनामा समेत चर्किएको छ।
विद्यालयलाई चन्द्रोदय माध्यमिक विद्यालयमा अस्थायी शिक्षण केन्द्र स्थापना गरी सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ। बाढीले विद्यालयका झोला, पुस्तक तथा खेलकुद सामग्रीमा समेत पूर्ण क्षति पुर्याएको छ।
धुस्सा सामुदायिक अध्ययन केन्द्रको भवनभित्र बाढी पसेर विभिन्न सामग्री नष्ट भएका छन्।
चन्द्रोदय माध्यमिक विद्यालयको मुख्य भवन सुरक्षित रहे पनि खानेपानीका लागि प्रयोग हुँदै आएको लिफ्ट बाढीले बगाएपछि पानीको समस्या भएको प्रतिवेदनमा उल्लेख छ।
खानेपानीदेखि खेलमैदानसम्म बाढीको असर
जलेश्वरी माध्यमिक विद्यालयको बोरिङ, लिफ्टिङ मेसिन, बाटो, खेलमैदान तथा बगैँचामा बाढीले क्षति पुर्याएको छ।
विद्यालय सञ्चालनमा आए पनि साना बालबालिका अझै नियमित रूपमा विद्यालय उपस्थित हुन नसकेको जनाइएको छ।
त्यस्तै शंखादेवी माध्यमिक विद्यालयका पर्खाल, बाटो तथा तीन वटा झोलुङ्गे पुल बगाएपछि गोरखाबाट आउने विद्यार्थीलाई विद्यालय पुग्न कठिन भएको छ।
गजुरीमा मुख्य संरचना सुरक्षित
गजुरी गाउँपालिकास्थित भद्रकाली गुरुकुलको मैदान तथा बाटो बाढीले बगाएको भए पनि मुख्य विद्यालय संरचना सुरक्षित रहेको छ।
मुख्य संरचना सुरक्षित रहेकाले विद्यालय पुनः सञ्चालनमा आइसकेको छ। यद्यपि एक जना शिक्षकको घरमा भने बाढीबाट क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
सञ्चालन सम्भव भएका विद्यालय खुलिसके
प्रारम्भिक मूल्यांकनअनुसार सञ्चालन गर्न सकिने विद्यालयहरू पुनः सञ्चालनमा ल्याइसकिएको छ।
मर्मत गरेर सञ्चालन गर्न सकिने विद्यालयमा मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ भने तत्काल सञ्चालन गर्न नसकिने विद्यालयका लागि वैकल्पिक स्थान खोज्ने काम भइरहेको छ।
प्रभावित विद्यार्थीका लागि अस्थायी शिक्षण केन्द्र सञ्चालन तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने विषयमा युनिसेफसँग समन्वय भइरहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै स्थानीय तहसँगको सहकार्यमा ट्याबमार्फत प्रभावित विद्यालय तथा विद्यार्थीसम्बन्धी तथ्यांक संकलनको कामसमेत सम्पन्न गरिएको जनाइएको छ।