काठमाडौँ- युलेन्स स्कुलले सन् २०२६ शैक्षिक सत्रमा अध्ययन पूरा गरेका विद्यार्थीहरूको उपलब्धि, समर्पण र भविष्यप्रतिको आकांक्षालाई सम्मान गर्दै भव्य दीक्षान्त समारोह आयोजना गरेको छ।
कक्षा १२ तथा इन्टरनेशनल ब्याकलोरियट डिप्लोमा प्रोग्राम (आईबीडीपी) का विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न समारोहले विद्यार्थीहरूको शैक्षिक यात्राको महत्त्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा मनाएको थियो।
सन् २००६ मा स्थापना भएको युलेन्स स्कुल हाल नेपालका अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित छ। विद्यालयमा हाल १८ विभिन्न राष्ट्रियता तथा २० भन्दा बढी जातीय समुदायका एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समग्र व्यक्तित्व निर्माणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
समारोहमा विद्यालयकी प्रिन्सिपल एकता सिंह राणाले स्वागत मन्तव्य दिँदै विद्यालयसँगको आफ्नो दुई दशक लामो यात्राको स्मरण गरिन्। उनले विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक योगदानको प्रशंसा गर्दै दीक्षित विद्यार्थीहरूलाई जीवनका चुनौतीहरूको सामना गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरिन्।
युलेन्स एजुकेशन फाउन्डेशनका ट्रष्टी डा. मनीष थापाले प्रमुख वक्ता डा. चक्रराज पाण्डेको परिचय गराएका थिए। प्रमुख वक्ता डा. पाण्डेले विद्यार्थीहरूलाई जीवनभर सिकाइलाई निरन्तरता दिन, अर्थपूर्ण नेतृत्व गर्न र समाजमा सकारात्मक योगदान पु¥याउन आग्रह गरे।
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ का ५६ जना तथा आईबीडीपीअन्तर्गत १३४ जना गरी कुल १९० जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. भोला थापा तथा प्रिन्सिपल राणालगायत विशिष्ट व्यक्तित्वहरूले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले विद्यालय जीवनका अनुभव, मित्रता, चुनौती र भविष्यका योजनाबारे आफ्ना धारणा व्यक्त गरेका थिए। समापन मन्तव्यमा अध्यक्ष प्रा. डा. भोला थापाले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै इमानदारी, सहानुभूति र दृढताका साथ जीवनमा अघि बढ्न शुभकामना व्यक्त गरे।
समारोहको अन्त्य परम्परागत ‘ह्याट थ्रोइङ’ कार्यक्रमसँगै गरिएको थियो, जसले विद्यार्थीहरूमा नयाँ यात्रा प्रारम्भ भएको प्रतीकात्मक सन्देश दिनुका साथै उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो। युलेन्स स्कुलले सम्पूर्ण दीक्षित विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।







