काठमाडाैँ- स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गत विद्यार्थीको पहिलो रोजाइमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) पर्ने गरेको छ। यो चार वर्षे सेमेष्टर प्रणालीबाट अध्यापन हुने कार्यक्रम हो। यो विषयको अध्ययन पछि विद्यार्थीले सैद्धान्तिक ज्ञान पाउनुका साथै कुसल व्यवस्थापकको रुपमा आफूलाई स्थापित गर्न सक्छन्। बीबीएलाई धेरै विद्यार्थीको रोजाईमा पर्ने विश्व मान्यता बोकेको विषयका रुपमा हेरिन्छ। व्यवस्थापनमा आधारित यस विषयले विद्यार्थीलाई उद्यमी बन्न सिकाँउछ। सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले यसमा प्रभावकारी सिकाइ हुने भएकाले बजारमा सिधै काम गर्न सक्ने जनशक्ति तयार हुने अपेक्षा गरिन्छ।
नेपालमा बीबीए अध्ययनको अवस्था, गुणस्तर र अवसरका सम्वन्धमा काठमाडौँको नयाँवानेश्वरमा रहेको के एण्ड के इन्टरनेशनल कलेजका एकेडेमिक डिरेक्टर सिन्धुमाधव ढकालसँग गरिएको कुराकानी :
नयाँ - नयाँ कोर्सहरु आए पनि बीबीए पढ्न विद्यार्थीहरु किन आर्कर्षित भइरहेका छन्?
नेपालमा व्यवस्थापन संकायमा आर्कर्षण बढदै गएको छ। त्यसमा पनि सेमेस्टर प्रणाली अन्तर्गतका विषयहरु विद्यार्थीको प्रमुख रोजाइमा पर्ने गरेका छन्। पुराना तथा परम्परागत शैलिका पाठ्यक्रममा विद्यार्थीको रुचि घट्दै गएपछि विकल्पका रुपमा प्रयोगमा ल्याइएका विषयमा विद्यार्थीको चाप बढि देखिन्छ। विश्वव्यापीकरणको प्रभावले अव पुरानो र सैद्धान्तीक कोर्सहरुमा भन्दा नयाँ र व्यवहारीक र व्यवसायीक कोर्सहरुको माग बढ्दै जाँदा बीबीएको कोर्स अघि सारिएको हो। जुन अहिले विद्यार्थीको प्रमुख रोजाइको विषय बन्न पुगेको छ।
अर्को तर्फ अहिलेका व्यसायीक प्रतिष्ठानहरुका लागि सैद्धान्तिक ज्ञान भएको कोर्सले मात्र अवको व्यवस्थापन चल्न सक्दैन, अहिलेको व्यसायीक प्रतिष्ठानको आवश्यकता अनुसार बीबीएको कोर्स डिजाइन गरिएको छ। समग्रमा भन्दा बीबीए एउटा रुख हो भने व्यवस्थापन अन्र्तगतका अन्य कार्यक्रमहरु त्यसका हाँगाका रुपमा रहेका छन्।
जहाँ व्यापार हुन्छ, त्यहाँ बीबीएका विद्यार्थीहरुको माग छ। जुन सुकै क्षेत्रका लागि बीबीए अध्ययन गरेका विद्यार्थीहरुले अवसर पाउने अवस्था भएका कारण पनि विद्यार्थीको आर्कषण बीबीए तर्फ बढेको हो।
बीबीए अन्तर्गत कस्तो पाठ्यक्रमको विकास गरिएको छ?
बीबीए सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने चार वर्षे ८ वटा सेमेस्टरको कार्यक्रम हो। बीबीएलाई प्रक्टिकल कोर्सका रुपमा पनि लिईन्छ। जहाँ सैद्धान्तीक ज्ञान सँगै सीपलाई पनि सँगै लैजान सकिने अवस्था छ। त्रिविले बीबीएलाई एउटा प्याकेजका रुपमा विकास गरिएको छ। व्यवस्थापन मात्र होईन यसमा आईटी, मार्केटिङ, बैकिङ लगायतका क्षेत्रलाई पनि यसको पाठ्यक्रममा राखिएको छ।
त्रिविले सूरुवातमा सूरु गरेको बीबीएको पाठ्यक्रममा छैटौँ पटक परिमार्जन गरिसकेको अवस्था छ। सरुमा विद्यार्थीलाई म्यानेजर बनाउने लक्ष्यका साथ डिजाईन गरिएको बीबीएको पाठ्यक्रम अहिले विद्यार्थीलाई भविष्यको बिजनेस म्यान बनाउने लक्ष्यका साथ तयार पारिएको छ। सैद्धान्तीक वेसवाट सेमिनार वेसमा कोर्सलाई ढालिएको छ। त्यसैले पछिल्लो समयको माग अनुसार पाठ्यक्रम बनाईएको छ यसमा पनि अझ परिमार्जन जरुरी छ।
खास गरि त्रिविले आफनो कोर्सलाई विश्वस्तरको विश्वविद्यालय सरहनै हुने गरि पाठ्यक्रमको विकास गरेको छ। नेपालमा लगभग सबै विश्वविद्यालयमा सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने यो कार्यक्रमको अध्ययनको समयावधि र क्रेडिट आवर १२० तय गरेका छन्। यो कोर्ष त्रिभुवन विश्वविद्यालयको हरेक सेमेष्टरमा १५ क्रेडिट आवर पढ्नु पर्छ । त्यस्तै सबै सेमेष्टरमा गरी त्रिविले यसलाई १२० क्रेडिट आवर अध्ययन गर्नुपर्ने गरी कोर्स तयार गरेको छ।
बीबीएमा अध्ययन गर्नुपर्ने मूख्य विषयहरुमा एकाउटिङ, फाइनेन्सीयल म्यानेजमेण्ट, मार्केटिङ, क्वान्टिटेटिभ टेक्निक्स, बिजनेश ल एण्ड इथिक्स, हिउमन रिर्सोस म्यानेजमेण्ट, ओपरेसन म्यानेजमेण्ट, इकोनोमिक्स, म्यानेजमेण्ट इन्र्फोमेसन सिस्टम जस्ता विषय रहेका छन्।

बीबीए अध्ययन पछिको अवसरहरु के - कस्ता हुन्छन्?
व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्र लगायतमा सम्मानित रोजगारी पाउने गरेका छन्। जुन सुकै क्षेत्रका लागि बीबीए अध्ययन गरेका विद्यार्थीहरुले अवसर पाउने अवस्था छ।
बीबीए पढेको विद्यार्थीले आफूले नै व्यवसाय सञ्चालन गर्न पनि सक्षम हुन्छन्। व्यवस्थापनका जुनसुकै विषय पढेका विद्यार्थीले रोजगारीका लागि भौतारिनु पर्ने अवस्था नभएका कारण जुनसुकै कलेजमा पनि यो समूहका विषयमा विद्यार्थीको आकर्षण देखिएको छ।
बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासक लगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने भएपछि विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन्। सैद्धान्तिक र व्यावहारिक दुवै विषय पढाइ हुने भएका कारण बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन बीबीएले गर्छ। त्यसैले पनि यसमा आकर्षण बढ्दो छ।
बीबीएमा भर्नाका आधार र शूल्कको अवस्था कस्तो छ?
बीबीए अध्ययन गर्ने विद्यार्थीहरुले प्लस टुमा साईन्स वा म्यानेजेमेण्ट अध्ययन गरेको हुनुपर्छ भने परीक्षामा अनिवार्य १.८ जिपिए ल्याएको हुनुपर्दछ। त्रिवि अन्तर्गतको कलेजहरुमा भर्ना हुनका लागि विद्यार्थीले एउटै सीम्याटको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएर व्यवस्थापनका ७ /८ वटा कोर्सहरुमा भर्ना हुन पाउँछन्। बीबीए अध्ययन गर्नका लागि हरेक कलेजमा शुल्क फरक फरक छ। कलेजले प्रदान गर्ने सेवा र सुविधाको आधारमा मूल्य तोकिएको हुन्छ। चार वर्षे बीबीए अध्ययनका लागि विद्यार्थीले करिब ४ लाख देखि १५ लाख रुपियाँ सम्म खर्च गर्नुपर्ने हुन्छ।
त्रिवि अन्र्तगत र के एण्ड के कलेज सँग पनि थुप्रै छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। पढ्न चाहाने विद्यार्थीहरुका लागि आर्थिक अवस्थाले बाधा नपर्ने गरि हामीले व्यवस्था गरेका छौँ। सम्भव भए सम्म हामी कलेज भित्रैवाट यस्ता आवश्यक पर्ने विद्यार्थीहरुलाई व्यवस्थापन गर्नेछौ नसके विभिन्न विकल्पहरु पनि हामी सँग छन्। समग्रमा कमजोर आर्थिक अवस्थाका कारणले विद्यार्थीले पढन नपाउने अवस्था आउन नदिन के एण्ड के कलेज तयार छ।