काठमाडौँ- पछिल्लो समय विद्यार्थीहरूले आफूलाई आवश्यक पर्ने विषयबारे एआईमार्फत प्रश्न गर्न, अध्ययन गर्न तथा अन्तरक्रिया गर्न सक्ने अवस्था बनेकाले विश्वविद्यालय र शिक्षकले आफ्नो शिक्षण पद्धतिमा समयानुकूल परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ।
उच्च शिक्षामा अब विद्यार्थीलाई चार वर्ष स्नातक वा दुई वर्ष स्नातकोत्तर पढाएर प्रमाणपत्र मात्रै दिने कि त्यस अवधिमा आवश्यक ज्ञानसँगै व्यावहारिक सीप, क्षमता र अतिरिक्त मूल्यसमेत प्रदान गर्ने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताइएको छ।
एआईको प्रयोगले विद्यार्थीले विद्यालय तहदेखि नै विभिन्न विषयमा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने भएकाले आधुनिक शिक्षण–सिकाइको औचित्य र प्रभावकारितालाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।
यसका लागि उच्च शिक्षा प्रदायक संस्था तथा शिक्षकहरूले आफ्नो शिक्षण पद्धति र पेडागोजीलाई समयअनुकूल बनाउँदै विद्यार्थीमा सिर्जनशीलता, आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, व्यवहारिक सीप र नवप्रवर्तनजस्ता पक्षको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
यस्तै, एआईको विकासले सिर्जना गरेको चुनौतीलाई सम्बोधन गर्न नीति निर्माता, विश्वविद्यालयका पाठ्यक्रम डिजाइनर, शिक्षक तथा अन्य सरोकारवालालाई एकै ठाउँमा राखेर उच्च शिक्षाको पाठ्यक्रम र शिक्षण पद्धतिको समग्र समीक्षा गर्नुपर्नेमा जोड दिइएको छ।
आगामी दिनमा उच्च शिक्षाले केवल सूचना र प्रमाणपत्र प्रदान गर्नेभन्दा पनि एआईले सजिलै प्रतिस्थापन गर्न नसक्ने मानवीय क्षमता तथा व्यावहारिक दक्षता विकासमा केन्द्रित हुनुपर्ने बताइएको छ।