काठमाडौँ - नागार्जुन नगरपालिका–६, रामकोटस्थित सीताराम माध्यमिक विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। सहकार्यमार्फत प्राविधिक शिक्षा, सिर्जनात्मक कला, विद्यार्थी नेतृत्व विकास, सांस्कृतिक आदान–प्रदान तथा सामुदायिक सेवासम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ।
सहकार्यको मुख्य उद्देश्य स्थानीय समुदायका समस्या पहिचान गरी समाधानमुखी शैक्षिक गतिविधि सञ्चालन गर्नु र यसबाट विद्यार्थीमा सिर्जनशील सोच, नेतृत्व क्षमता, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि हुने विश्वास विद्यालयले गरेको छ। साथै बहुसांस्कृतिक आदान–प्रदानमार्फत समावेशी समाज निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका लागि दक्षिण कोरियाबाट २८ सदस्यीय विद्यार्थी तथा कर्मचारीको टोली नेपाल आएको छ। उक्त टोलीले नागार्जुन नगरपालिका र सीताराम माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्वयंसेवा, शैक्षिक सहयोग, नेतृत्व विकास तथा सांस्कृतिक सम्बन्ध विस्तारका विभिन्न गतिविधिमा सहभागिता जनाउनेछ।
उक्त अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्दै विद्यालय प्रशासनले आभार व्यक्त गरेको थियो। वक्ताहरूले स्थानीय सरकार, सामुदायिक विद्यालय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार, विद्यार्थीको व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय स्तरका शैक्षिक अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
सनमुन विश्वविद्यालयले नेपालमा सञ्चालन गरिरहेको ‘ग्लोबल कम्युनिटी’ अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रमअन्तर्गत कोरियाली भाषा तथा संस्कृति शिक्षण, कला प्रशिक्षण, विद्यार्थी केन्द्रित सिकाइ, करियर अभिमुखीकरण, खेलकुद प्रशिक्षण, स्वास्थ्य शिविर, सामुदायिक सेवा, मितेरी कार्यक्रम, वृक्षारोपण तथा सांस्कृतिक आदान–प्रदानजस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने जानकारी दिइएको छ।
