काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न कार्यक्रमका लागि सञ्चालन हुने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर लेभल (MECEE–BL २०२७) को अनलाइन आवेदन खुला गरेको छ।
आयोगका अनुसार एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएमएस, बीपीएच, बीफार्म, बीएससी एमएलटी, बीपीटी, बी अप्टोमेट्री लगायतका स्नातक तहका स्वास्थ्य शिक्षा कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
आवेदन प्रक्रिया साउन २५ गते बिहान ९:०० बजेदेखि सुरु हुनेछ। नियमित आवेदन दिने अन्तिम मिति भदौ १५ गते साँझ ५:०० बजे तोकिएको छ। त्यसपछि भदौ २२ गते साँझ ५:०० बजेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।
प्रवेश परीक्षा आवेदन शुल्क नेपाली उम्मेदवारका लागि रु. ४,००० र विदेशी उम्मेदवारका लागि रु. ८,००० निर्धारण गरिएको छ। शुल्क हिमालय बैंक मार्फत जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
आयोगले आवेदन दिनुअघि तोकिएको शैक्षिक योग्यता, आवश्यक कागजात तथा अन्य मापदण्ड पूरा भएको सुनिश्चित गर्न सबै उम्मेदवारलाई आग्रह गरेको छ। आवेदन प्रक्रिया तथा थप विवरण आयोगको आधिकारिक वेबसाइट र प्रवेश परीक्षा पोर्टलमार्फत प्राप्त गर्न सकिने जनाएको छ।