काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) सेवाका विषयमा गलत सूचना प्रवाह नगर्न शैक्षिक परामर्श संस्थाहरूलाई सचेत गराएको छ।
मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले सूचना जारी गर्दै एनओसीका लागि आवेदन दिने र प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया अनलाइन तथा डिजिटल माध्यमबाटै हुने स्पष्ट पारेको छ। सेवाग्राहीले एनओसी लिन अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भन्ने गलत सूचना केही शैक्षिक परामर्श संस्थाले प्रवाह गरेको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका अनुसार एनओसी आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाइएको छ। आवेदनपछि एनओसी प्राप्त गर्ने प्रक्रियासमेत अनलाइन तथा भौतिक दुवै माध्यमबाट हुने व्यवस्था रहेको जनाइएको छ। नागरिकता र शैक्षिक योग्यतासम्बन्धी विवरण केन्द्रीय सूचना व्यवस्थापन प्रणालीमा आपसमा मेल खाई जन्ममिति (DOB) भेरिफाइड भएका विद्यार्थीले भौतिक रूपमा उपस्थित नभई एनओसी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले विद्यार्थीलाई यससम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराउन शैक्षिक परामर्श संस्थाहरूलाई निर्देशनसमेत दिएको छ।
त्यस्तै, एनओसीका नाममा गलत सूचना प्रवाह गर्ने, सेवाग्राहीलाई भ्रममा पार्ने वा अनावश्यक रूपमा कार्यालयमा बोलाउने गैरकानुनी तथा भ्रामक अभ्यास तत्काल रोक्न मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले त्यस्ता गतिविधि गर्ने संस्थामाथि कडा नियामक अनुगमन तथा कानुनी कारबाही अघि बढाइने जनाएको छ।
सूचनामा सम्पूर्ण सेवाग्राही, शैक्षिक परामर्श व्यवसायी तथा सरोकारवालालाई एनओसी सम्बन्धी आधिकारिक जानकारी मन्त्रालयको वेबसाइट तथा एनओसी पोर्टलमा उपलब्ध प्रयोगकर्ता पुस्तिकामार्फत लिन आग्रह गरिएको छ। साथै, एनओसी सम्बन्धी जानकारीका लागि मन्त्रालयको आधिकारिक सम्पर्क माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ।
मन्त्रालयले एनओसी सेवामा हुने अनियमितता, भ्रम तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्दै सेवाग्राहीलाई सहज र डिजिटल सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
