हेटौँडा- विद्यालयमा विद्यार्थीले पढ्ने, लेख्ने र परीक्षा दिने मात्र होइन, दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप पनि सिक्नुपर्छ भन्ने मान्यतालाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले व्यवहारमा उतारेको छ। विद्यालयले सञ्चालन गर्दै आएको ‘स्किल क्याम्प’मार्फत विद्यार्थीलाई परम्परागत सीपदेखि आधुनिक प्रविधि र उद्यमशीलतासम्मका अभ्यास गराउँदै आएको छ।
विद्यालयको सीपमूलक कार्यक्रमले विद्यार्थीमा सिक्ने उत्साह मात्र बढाएको छैन, उनीहरूले सिकेका कुरा घरपरिवारमा समेत प्रयोग गर्न थालेका छन्। कक्षा ४ मा अध्ययनरत अधिश्री दाहालले विद्यालयमा सिकेको पुराना कागज पुनःप्रशोधन गरी नयाँ कागज बनाउने तरिका आफ्नी आमालाई समेत सिकाइन्। छोरीबाट नयाँ सीप सिक्न पाउँदा आमा सपना ढुंगाना निकै खुसी भइन्।
अधिश्रीले विद्यालयको ‘स्किल क्याम्प’मा पुराना कागजबाट नयाँ कागज बनाउने र त्यसमा छपाइ गर्ने अभ्यास गरेकी थिइन्। विद्यालयमा सिकेको सीप घरमा आएर आमालाई सिकाउँदा आफूलाई पनि नयाँ कुरा थाहा भएको ढुंगानाले बताइन्। उनका अनुसार बालबालिकाले विद्यालयमा सिकेका व्यावहारिक ज्ञान घरमा समेत प्रयोग गर्न थालेका छन्।
विद्यालय परिसरमा सञ्चालन भएको क्याम्पमा विद्यार्थीहरू विभिन्न गतिविधिमा व्यस्त देखिन्थे। कतै परालबाट परम्परागत गुन्द्री बुन्ने अभ्यास भइरहेको थियो भने कतै रोबोटिक्स तथा विद्युतीय उपकरणको नमुना प्रदर्शन भइरहेको थियो। विद्यार्थीले कागज पुनःप्रशोधन, बुनाइ, कला, कृषि, प्रविधि र उत्पादन बजारीकरणसम्मका गतिविधिमा सहभागी भएर सिक्ने अवसर पाएका थिए।
विद्यालयले ‘एक कक्षा, एक सीप’ अवधारणाअनुसार कक्षा १० उत्तीर्ण गर्दासम्म प्रत्येक विद्यार्थीलाई कम्तीमा १० वटा व्यावहारिक सीप सिकाउने लक्ष्य राखेको छ। विद्यार्थीमा सिर्जनशीलता, आत्मनिर्भरता र उद्यमशीलताको विकास गर्ने उद्देश्यले तीन वर्षदेखि सञ्चालन हुँदै आएको स्किल क्याम्पको तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको हो।
विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीका अनुसार दसैँतिहारको बिदापछि विद्यालय खुलेको पहिलो साता विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन छुट्याइने गरिएको छ। लामो बिदापछि विद्यालय फर्किएका विद्यार्थीलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै नियमित पठनपाठनमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
विद्यार्थीको उमेर र कक्षाअनुसार फरक–फरक सीप सिकाउने व्यवस्था गरिएको छ। कक्षा ३ सम्मका विद्यार्थीलाई स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभ्यास गराइएको छ भने कक्षा ४ मा कागज पुनःप्रशोधन, कक्षा ५ मा बुनाइ र कक्षा ६ मा कलासम्बन्धी गतिविधि सञ्चालन गरिएको छ। कक्षा ७ का विद्यार्थीले परालबाट गुन्द्री बुन्ने परम्परागत सीप सिकेका छन्।
कक्षा ७ की विद्यार्थी सायास्ता परियारले विद्यालयमै गुन्द्री बुन्ने सीप सिक्न पाउँदा खुसी लागेको बताइन्। पराल तयार गर्नेदेखि गुन्द्री बुन्नेसम्मको अभ्यासले नयाँ अनुभव दिएको उनको भनाइ छ। नयाँ पुस्तालाई क्रमशः ओझेलमा पर्दै गएका परम्परागत सीपसँग परिचित गराउने उद्देश्यले यस्तो अभ्यास गराइएको विद्यालयले जनाएको छ।
परम्परागत सीपसँगै आधुनिक प्रविधिलाई पनि कार्यक्रममा प्राथमिकता दिइएको छ। कक्षा ८ का विद्यार्थीले रोबोटिक्स तथा विद्युतीय प्रविधिमा आधारित उपकरणका नमुना निर्माण गरी प्रदर्शन गरेका थिए। कक्षा १० का विद्यार्थीले भने क्याम्प सञ्चालनमा स्वयंसेवकका रूपमा सहयोग गरेका थिए। विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यावहारिक अभ्याससँग जोड्ने ‘स्टिम’ शिक्षण पद्धतिलाई समेत कार्यक्रममा समेटिएको प्रधानाध्यापक गिरीले बताए।
विद्यालयको अर्को महत्त्वपूर्ण अभ्यास उत्पादन र बजारीकरणसँग सम्बन्धित छ। कक्षा ९ मा अध्ययनरत सोनु अधिकारीसहितका विद्यार्थीले तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन तथा बिक्रीको अभ्यास गरेका थिए। विद्यार्थीले समूह बनाएर सामग्री संकलन, उत्पादन र बजारीकरणको जिम्मेवारी बाँडेका थिए। उत्पादन लागत, बिक्री मूल्य र सम्भावित नाफाको हिसाबसमेत उनीहरूले आफैँ गरेका थिए।
सोनुका बुबा पुरुषोत्तम अधिकारीका अनुसार विद्यार्थीले उत्पादन लागतमा करिब ४० प्रतिशत नाफा राखेर मैनबत्तीको बिक्री मूल्य निर्धारण गरेका थिए। विद्यालयमा सिकेको कुरा घरमा आएर छोरीले व्यवसाय र बजारसँग जोडेर छलफल गर्न थालेपछि आफू प्रभावित भएको उनले बताए। उत्पादन गर्नु मात्र नभई लागत मूल्य, बिक्री मूल्य र नाफाको हिसाब गर्न जान्नु पनि महत्त्वपूर्ण सीप भएको उनको भनाइ छ।
विद्यालयले यसअघि विद्यार्थीलाई कृषि अभ्यासमा समेत सहभागी गराएको थियो। उनीहरूले विद्यालय परिसरमै धान रोप्ने, काट्ने, चुट्ने र भित्र्याउनेसम्मका काम सिकेका थिए। जैविक फोहरबाट कम्पोस्ट मल बनाउने अभ्यास पनि सञ्चालन गरिएको थियो। सरसफाइ र वातावरण संरक्षणका विषयमा सिकेका कुरा विद्यार्थीले घरमा समेत लागू गर्न थालेको अभिभावकहरूको अनुभव छ।
प्रधानाध्यापक गिरीका अनुसार विद्यालयको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी दैनिक जीवनमा आवश्यक काम आफैँ गर्न सक्ने बनाउनु हो। परम्परागत ज्ञान र सीपको संरक्षण गर्दै आधुनिक प्रविधि, सिर्जनशीलता र उद्यमशीलतासँग जोड्ने प्रयासलाई विद्यालयले निरन्तरता दिने उनको भनाइ छ। विद्यालयमा सिकेको ज्ञान घर, समाज र व्यवहारमा प्रयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्नु नै सीपमूलक शिक्षाको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ।