म्याग्दी- दसैँतिहारको लामो बिदामा विद्यार्थीको पढाइ र सिकाइको अवस्था बुझ्न म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलो अभियान सञ्चालन गरेको छ।
विद्यालयले बिदाको समयलाई विद्यार्थीको सिकाइसँग जोड्दै घरघरमै पुगेर विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अभ्यास सुरु गरेको हो। अभियानमार्फत विद्यार्थीले बिदाको समय कसरी बिताइरहेका छन्, गृहकार्य पूरा गरेका छन् कि छैनन्, घरमा अध्ययनको वातावरण कस्तो छ र अभिभावकले पढाइमा कत्तिको चासो दिएका छन् भन्ने विषयमा जानकारी लिइएको छ।
विद्यालयका शिक्षक गणेश केसीका अनुसार कात्तिक १ गतेदेखि सुरु भएको अभियानअन्तर्गत विद्यालयको सेवा क्षेत्रभित्रका विभिन्न बस्ती तथा समुदायमा पुगेर विद्यार्थीको शैक्षिक अवस्था बुझ्ने र अभिभावकसँग छलफल गर्ने काम भइरहेको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा पूर्वविद्यार्थीका प्रतिनिधि सम्मिलित टोलीले विद्यार्थीका घरमै पुगेर उनीहरूको गृहकार्य, पठनपाठन, पारिवारिक वातावरण र बिदाको समयमा सिकिरहेका व्यावहारिक सीपबारे जानकारी लिएको केसीले बताए।
भेटघाटका क्रममा टोलीले विद्यार्थीलाई नियमित अध्ययन गर्न र बिदाको समय सिर्जनात्मक तथा उत्पादनमूलक काममा उपयोग गर्न सुझाव दिएको छ। अभिभावकलाई पनि बालबालिकाको पढाइमा नियमित चासो राख्न र घरमै अध्ययनमैत्री वातावरण बनाउन परामर्श दिइएको छ।
अभिभावकसँगको अन्तरक्रियामा विद्यालयको शैक्षिक अवस्था, सुधारका सम्भावना र आगामी योजनाबारे छलफल गरिएको छ। अभिभावकले पनि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आफ्ना अनुभव, सुझाव र अपेक्षा प्रस्तुत गरेका छन्।
विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालयको प्रयास मात्र पर्याप्त नहुने भएकाले अभिभावक र परिवारसँगको सहकार्यलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार बिदाको समयमा विद्यार्थीको वास्तविक अवस्था घरमै पुगेर बुझ्दा उनीहरूको सिकाइ वातावरण र आवश्यकताबारे प्रभावकारी जानकारी प्राप्त गर्न सकिन्छ।
विद्यालयले यस अभियानलाई नियमित पठनपाठनका समयमा गरिने अनुगमनभन्दा फरक अभ्यासका रूपमा अघि बढाएको छ। विद्यार्थी विद्यालयमा उपस्थित हुँदा मात्र होइन, घरमा रहँदा पनि उनीहरूको सिकाइ र गतिविधिप्रति विद्यालयले चासो राख्नुपर्ने मान्यतासहित कार्यक्रम सञ्चालन गरिएको हो।
अभियानका क्रममा विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाबाट उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको शिक्षक केसीले बताए। यसबाट अभिभावकको विद्यालयप्रतिको अपनत्व बढ्नुका साथै शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक सुधारका लागि आवश्यक सुझाव संकलन गर्नसमेत सहयोग पुगेको उनको भनाइ छ।
विद्यालयको सेवा क्षेत्रका अधिकांश बस्तीमा पुगिसकेको टोलीले बाँकी रहेका स्थानमा पनि घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। अभियानका क्रममा प्राप्त सुझावलाई विद्यालयको आगामी योजना र सुधारका कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने विद्यालयले जनाएको छ।