काठमाडौँ- गृह मन्त्रालयले नेपालीहरूको मौलिक सांस्कृतिक तथा धार्मिक पर्व तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पत्र जारी गर्दै परम्परागत देउसी–भैलो कार्यक्रम २४ घण्टाभित्र मात्र सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयले २०८३ कात्तिक २३ गते जारी गरेको पत्रमा तिहारका कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न सातबुँदे निर्देशनसमेत दिएको छ।
मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। यस्ता कार्यक्रम स्वेच्छिक र मर्यादित हुनुपर्ने तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने स्पष्ट पारेको छ।
त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, संगीत र नाराको प्रयोग गर्न नदिन निर्देशन दिइएको छ।
तिहारका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारीसाधन चलाउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
अस्पताल, वृद्धाश्रम तथा संवेदनशील क्षेत्रहरूमा अत्यधिक ध्वनि निकाल्ने साउन्ड सिस्टम र ध्वनि उपकरण प्रयोग नगर्न तथा यस्ता स्थानमा विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।
यसैगरी, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्ने व्यवस्था मिलाउन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई भनेको छ।
देउसी–भैलो कार्यक्रम सञ्चालन वा तिहार मनाउने क्रममा कुनै शंकास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा समस्या परेमा तत्काल प्रहरी नियन्त्रण कक्ष १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) १२३४ मा सम्पर्क गर्न मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।
मन्त्रालयले तिहारको सांस्कृतिक महत्त्व र मौलिकता जोगाउँदै शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा पर्व मनाउन सबै नागरिकलाई आग्रह गरेको छ।
