काठमाडाैँ - गुल्मीमा गणित,अङ्ग्रेजी र विज्ञानका शिक्षक पाउनै मुस्किल भएको छ। धुर्कोट गाउँपालिकाले ज्ञानोदय माध्यमिक विद्यालयमा गणित शिक्षक सङ्घीय अनुदानका लागि चौथो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको गाउँपालिकाले जनाएको हाे।
गाउँपालिकाले माध्यमिक तह (नौ,दस) को गणित शिक्षकका लागि चौथो पटक विज्ञापन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए। चौथो पटक गरिएको विज्ञापनमा अन्तिम दिन जेठ २० गतेसम्म पनि कसैको आवेदन नपरेको उनको भनाइ छ।
प्राथमिक तहको शिक्षकका लागि पनि दोस्रो पटक विज्ञापन गरिएको पन्थीले बताए। सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण पनि थप समस्या आउने गरेको पन्थीले गुनासो गरे।
त्यस्तै केही महिना पहिले जिल्लाको मुसिकोट नगरपालिकाको मुसिकोट माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो। यस्तै, शिवशङकर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएकोे नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए।
यस्तै, सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उनले बताए।
गुल्मीमा सामुदायीक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ। जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी ३ हजार १५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ।