काठमाडाैँ - सल्यानमा विज्ञान शिक्षाको गुणस्तर सुधार र शिक्षकहरुको सशक्तिकरणका लागि शिक्षकहरु संगठित भएर योजनाबद्ध रुपमा लागेका छन्।
विज्ञान शिक्षालाई प्रभावकारी बनाउन, विज्ञान शिक्षासँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न र जिल्लाभरका पालिकाहरुमा एकरूपता ल्याउन विज्ञान शिक्षक समाज नेपाल जिल्ला कार्यसमितिले पहल थालेको हो।
विज्ञान शैक्षिक सामग्री निर्माण, विज्ञान प्रतिभा पहिचान कार्यक्रम तथा विज्ञान शिक्षक तालिम जस्ता गतिविधि सञ्चालनका लागि जिल्लाका दशवटै स्थानीय तहमा आवश्यक बजेट व्यवस्थापनका लागि माग गर्ने निर्णय भएको विज्ञान शिक्षक समाज सल्यानका अध्यक्ष ललित पुनले जानकारी दिए।
उनले भने, 'हामीले हालै जिल्ला कार्यसमितिको विस्तारित बैठक श्रीनगरमा सम्पन्न गरेका छौँ। जिल्ला शिक्षा समन्वय इकाइ सल्यान तथा सबै पालिकाका शिक्षा शाखासँग समन्वय गरी पाठ्यक्रम प्रबोधिकरण, परियोजना कार्य, प्रयोगात्मक कक्षा सञ्चालन लगायतका विषयमा विस्तृत तालिम सञ्चालन गर्ने निर्णय भएको छ।'
जिल्लाका सबै पालिकाहरुमा कार्यसमिति गठन गर्ने अभियान स्वरुप बाँकी रहेका पालिकाहरुमा समिति निर्माणका लागि शिक्षक प्रतिनिधीहरुलाई जिम्मेवारी पनि तोकिएको समाजले जनाएको छ। दार्मामा नेत्रलाल भट्टराई (नारायण), बनगाड कुपिण्डेमा ललित पुन, कुमाखमा दल बहादुर राना र सिद्धकुमाखमा शिव सुन्दर के.सी. लाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै जिल्ला सल्लाहकार समिति गठन गरी संयोजकमा नेत्रलाल भट्टराई तथा सदस्यहरूमा माधव जिसी, चुडामणि केसी, दल बहादुर राना र जितेन्द्र मण्डललाई चयन गरिएको छ।
विज्ञान शिक्षामा देखिएका चुनौती समाधान गर्न, शिक्षकहरूबीच समन्वय र सहकार्य सुदृढ गर्न तथा नीति निर्माण तहमा शिक्षकहरूको आवाज पुगाउन संगठनात्मक संरचना बलियो बनाउनु अपरिहार्य भएकाले पहल थालिएको सल्लाहकार संयोजक भट्टराईले बताए।
कक्षा ८ र १० को प्रयोगात्मक मूल्यांकनलाई थप पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले शिक्षक साटासाट प्रणालीमार्फत बाह्य सुपरिवेक्षणको व्यवस्था गर्नका लागि माग गरिएको उनको भनाई छ।
संयोजक भट्टराईले भने, 'प्रविधिमैत्री शिक्षण प्रणालीलाई टेवा पु¥याउने उद्देश्यले कक्षा ८ र १० का लागि विज्ञान विषयको सम्पूर्ण कोर्स सामग्रीलाई समेट्ने पावरपोइन्ट स्लाइड निर्माण गर्न समिति गठन गर्ने र जिम्मेवारी बाँडफाँड सहित अघि बढ्ने हाम्रो तयारी छ।'
कक्षा ८ र १० का परीक्षामा विज्ञानको नतिजा सुधार गर्न सबै स्थानीय विज्ञान शिक्षक समाजको समितिले ३/३ सेट प्रश्नपत्र तयार पार्ने र त्यसको आधारमा जिल्ला समितिले मोडेल सेट तयार गरी जिल्लाभरका विद्यार्थीलाई तयारी गराउने योजना पनि अघि सारिएको उनको भनाई छ।