काठमाडौँ- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उपसमितिले जेठ ४ गते समितिलाई बुझाएको प्रतिवेदन पछि सबै शिक्षक कर्मचारीहरू तरंगित भएकाे र प्रतिवेदन उल्टिगंगा रहेकाे बताएका छन्। नेपाल शिक्षक संघको २४ औँ संघीय प्रतिनिधिसभामा कार्यक्रममा बाेल्दै उनले विधेयक विषयमा गम्भीर आशंका व्यक्त गरेका थिए।
उनले शिक्षा विधेयक-२०८० मा ४५ दिन लामो छलफलपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले जेठ ४ गते समितिलाई प्रतिवेदन बुझाएको स्मरण गराउँदै भने, ‘प्रतिवेदनपछि हामी सबै शिक्षक कर्मचारीहरू तरंगित भयौं। वास्तवमा उपसमितिको प्रतिवेदन उल्टिगंगा थियो। बागमतीलाई बल्खुबाट बागद्वारतर्फ बगाउन खोजिएको थियो। हामीले खोजेको त्यो थिएन।’
उनले उपसमितिले शिक्षक आन्दोलनलाई बिर्सिएको छ वा ‘हामी जे ठान्छौँ त्यही हुन्छ’ भन्ने प्रकारको अहंकार देखिएको बताए। ‘उपसमितिको प्रतिवेदनले तमाम शिक्षक कर्मचारीको चित्त दुखाएको छ। गौरवयोग्य एवं अभूतपूर्व आन्दोलनको समेत अपमान गरेको छ,’ सुवेदीले भने।
उनका अनुसार पछिल्लो समय सरकार र शिक्षा समितिबीच ‘दन्तबजान’को स्थिति रह्यो। त्यो विवाद समाधान गर्ने उद्देश्यले शिक्षा मन्त्रालयसँग २७ बुँदामा अनौपचारिक समझदारी गरिएको उनले जानकारी दिए। ‘२७ बुँदामा जे कुरा सार्वजनिक भएको छ, कतिपय कुरा जस्ताको तस्तै सार्वजनिक भएको छ, कतिपय कुराहरू सार्वजनिक भएको छैन। त्यसैले यो विषय पर्यो, यो परेन भनेर तरंगित नहुन आग्रह गर्दछु,’ सुवेदीले भने।
सुवेदीले असार १५ लाई नेपाली शिक्षाको भविष्य निर्धारण गर्ने ऐतिहासिक दिनको रूपमा लिएका छन्। ‘म असार १५ सम्झिरहेको छु। असार १५ लाई मैले दही चिउरा खाने दिवसको रूपमा सम्झिरहेको छैन। नेपाली शिक्षक कर्मचारीको कल्याणको पक्षमा, नेपालको शिक्षाको पक्षमा एउटा अग्रगामी ऐन जारी हुने दिनको रूपमा सम्झिरहेको छु,’ उनले भने।
२०७५, २०७८, २०८० र २०८२ मा भएका सबै सहमतिलाई सम्बोधन गरेर शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उनले चेतावनीस्वरूप भने,‘हामी नेपालीको संस्कृति छ, सकेसम्म नगर्ने, गर्ने परे पनि अन्तिम समयमा आएर गर्ने। त्यो संस्कृति पुनरावृत्ति नहोस् भन्ने म विनम्र अनुरोध गर्दछु। यो हामी सबैका लागि अन्तिम अवसर हो। असार १५ को कार्यसूची फेल भयो भने नेपाली शिक्षक कर्मचारीले विद्रोह गर्छ।’
सुवेदीले थपे, ‘कोठा थुनेर पिटिएको बिरालोले त आवश्यक पर्दा विद्रोह गर्छ भने हामी चेतनशील शिक्षकहरू हौं। एउटा अकल्पनीय विद्रोह हुनसक्छ। त्यो विद्रोहले के गर्छ टुंगो छैन। बागमतीको पानीको पर्खाल र सीमा मिचेर हिँडेजस्तै त्यो विद्रोहले आन्दोलनका सीमाना भत्काएर अगाडि जान सक्छ। त्यो दिन नआओस् भन्ने कुरामा हामी सचेत छौं। र, सबैलाई सचेत गराउन चाहन्छु।’