काठमाडौँ - विद्यालय शिक्षा विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफलले शिक्षक - कर्मचारीको मुख्य मागलाई बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको तयारी गरेको छ।
बिहीबार बसेको महासंघको बैठकले भदौ दोस्रो हप्तादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो। त्यसपश्चात शुक्रबार जारी गरिएको विज्ञप्तिमा महासंघले विधेयकमा नमिलेका विषयको अन्तिम टुंगो आन्दोलनमार्फत हुने चेतावनी दिएको छ।
महासंघले सबै शिक्षक–कर्मचारीलाई आन्दोलनका लागि तयार रहन आग्रह गर्दै आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारकै हुने जनाएको छ।
उनका अनुसार, शिक्षकको बढुवा, सरुवा, विभागीय कारबाही, अस्थायी शिक्षकको स्थायीत्व, ट्रेड युनियन अधिकार, बालकक्षा शिक्षक तथा विद्यालय कर्मचारीको व्यवस्थापन, संस्थागत विद्यालयका शिक्षकको अवस्था, दरबन्दी मिलान जस्ता मुद्दामा सहमति अनुरूप व्यवस्था नभएको पाइएको छ।
यसले गत चैत–बैशाखमा भएको आन्दोलनको भावना बेवास्ता भएको महसुस गराएको महासंघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,´शिक्षक–कर्मचारी आन्दोलनको ऊर्जा र क्षमता हामीले विर्सेका छैनौँ। फेरि आन्दोलनको आँधीबेहरी लिएर आउन सक्छौं भन्ने कुरा सम्बन्धित पक्षले मनन गर्नुपर्छ।`

