काठमाडाैँ - कालीकोट गुल्मीको मुसीकोट नगरपालिकाले संघीय अनुदानअन्तर्गत माध्यमिक तह गणित शिक्षक भर्ना गर्न १५ पटकसम्म विज्ञापन गर्दा पनि दरखास्त परेकाे छैन। पालिकाको शिक्षा शाखाले डेढ वर्षदेखि अंग्रेजी र विज्ञानका शिक्षक पनि पदपूर्ति गर्न खोजिरहेको हाे।
वडा-४ स्थित मुसीकोट माविका प्रधानाध्यापक श्याम थापाले निमावि तहका गणित शिक्षकबाटै माथिल्लो कक्षा सञ्चालन गर्नु परिरहेको सुनाए। उनका अनुसार पटक-पटक विज्ञापन गर्दा पनि कोही नआएपछि सूचना निकाल्नै छाडिएको छ। ‘निमाविको शिक्षकलाई एक पिरियड पनि फुर्सद हुँदैन,’ प्रअ थापाले भने।
मालिका गाउँपालिका-५ जमलपोखरा माविले विज्ञान शिक्षक नियुक्तिका लागि तीन पटक दरखास्त आह्वान गर्यो तर कोही आएनन्। अहिले निमावि तहका शिक्षकबाट माथिल्लो कक्षा धानिएको प्रअ ढुण्डीराज अर्यालले बताए। कालीगण्डकी गाउँपालिका-६ खड्गकोटको शुक्र माविले गणित शिक्षकका लागि चार पटकसम्म विज्ञापन खुलाएको थियो तर दरखास्त नै परेन। ‘विद्यार्थीको गुनासो बढेपछि गत जेठबाट निमावि शिक्षकबाट अध्यापन गराइरहेका छौं,’ प्रअ प्रेमबहादुर पुनले भने।
रेसुंगा नगरपालिका-३ भाडगाउँको भाडागाउँ मावि र वडा ११ को राङबास माविका लागि पनि गणित शिक्षक नियुक्ति गर्न ३/३ पटक विज्ञापन गरिएको थियो तर शिक्षक आएनन्। ‘जिल्लामा गणित, विज्ञान र अंग्रेजी शिक्षक पाउनै गाह्रो छ,’ शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले भने, ‘विषयगत शिक्षक नहुँदा शैक्षिक गुणस्तर पनि खस्किएको छ।’
कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्ध पब्लिक माविले संघीय कोटामा निमावि तहको गणित र विज्ञान विषय शिक्षक भर्ना गर्न आठ महिनायता चार पटक विज्ञापन निकालिसकेको छ। तर दरखास्त नपरेपछि शिक्षक नियुक्ति हुन सकेको छैन। कृष्णनगर नगरपालिकाले मावि तहमा विभिन्न विषयमा ५१ स्वयंसेवक शिक्षक भर्नाका लागि गत वर्ष सूचना निकाल्दा गणित विषयमा कसैको आवेदन परेन। जिल्लामा धेरै विद्यार्थी अनुत्तीर्ण हुने पनि यिनै विषय हुन्।
गत वर्ष जिल्लाबाट एसईईमा सहभागीमध्ये ९ हजारमा ३ हजार ४ सय विद्यार्थी ‘ननग्रेडेड’ (अनुत्तीर्ण) भएका थिए। तिनमा ३ हजार ४ सयमा २ हजार ४ सय विद्यार्थी गणितका ‘ननग्रेडेड’ थिए। ‘ननग्रेडेड’ मा त्यसपछि अर्थशास्त्र र विज्ञान विषयका बढी छन्। ग्रेडवृद्धि परीक्षा भर्खर सकिएको छ। गणित, विज्ञान पढेकाहरू प्रायः डाक्टर, इन्जिनियर, कम्प्युटर र वन विज्ञान पढ्नतिर लाग्दा शिक्षक पाउन समस्या भइरहेको शिक्षा विकास तथा समन्वय इकाइका शिक्षा अधिकृत अर्जुन कुँवरले बताए। ‘गणित र विज्ञान प्राविधिक विषय हुन् यी विषय पढेका धेरैजसो विदेश लागेको देखिन्छ। यहाँ बसेकाहरूमा पनि शिक्षण पेसाप्रति रुचि हुने कम छन्,’ उनले भने।
गणित र विज्ञान शिक्षकको अभावले पठनपाठनमा समस्या भइरहेको अनिरुद्ध पब्लिक माविका प्रअ रमेशकुमार पाण्डेले बताए । मावि तहको शिक्षक पदपूर्ति गर्न नसक्दा निमावि तहका शिक्षकलाई अतिरिक्त भार परेको पनि उनले सुनाए।