काठमाडाैँ - निवर्तमान शिक्षामन्त्री महावीर पुनकाे 'मुड चेन्ज तुरुन्तै'। उनलाई पछिल्लो समय धेरैपटक सोधिने प्रश्न हाे, 'तपाईं पनि चुनाव लड्ने हो?' उनकाे जवाफ थियाे 'मलाई राजनीतिमा खासै रूचि छैन। चुनाव लड्दिन तर परिआए लड्न पनि सकिन्छ।'
सरकारमा रहेका मन्त्रीहरु राजीनामा दिदैँ चुनाव लड्ने घाेषणा गरेपछि महाविर पुनलाई पनि झाेक चल्याे अनि राजिनामा दिएर लागे म्याग्दी। याे झाेक चल्नुकाे कारण थियाे आइतबार मात्रै खेलकुदमन्त्री बब्लु गुप्ता र सोमबार सञ्चारमन्त्री जगदिश खरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट फागुन २१ को चुनाव लड्ने घोषणा गर्नु।
यसरी नागरिक सरकारका मन्त्रीहरूले राजीनामा दिएर उम्मेदवार बन्न जानु शोभनीय नभएको आलोचना पनि खुब भयो। तर आलोचना गर्नेहरूले महावीर पुन लगायत सरकारमै बसेका मन्त्रीहरूलाई धन्यवाद पनि दिए। उनै महावीर पुनले उम्मेदवारी दर्ता गर्ने दिन माघ ६ गते बिहान एक्कासि आफ्नो पदबाट राजीनामा दिएको खबबर आयो। सुरूमा उनले किन राजीनामा दिए भन्ने खुलेन। पछि त उनी चुनावमा स्वतन्त्र उम्मेदवारी दिन बिहानै म्याग्दी पुगेको थाहा भयो। मनोनयन पत्र दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै पुनले भने,'जनताको दिमागको घन्टी बजाउन उम्मेदवारी दिए।' उनले थपे 'दिमागको घन्टी बजाउने क्या, बजाउने घन्टी होइन,'
म्याग्दीमा उम्मेद्वारी दर्तापछि संवाददाताहरूसँग कुरा गर्दै पुनले भने, 'हामीकहाँ युवाहरूको पनि ढंग छैन। खुट्टा तानातान मात्र छ। हिजो अस्तिसम्म युवाहरूले केही गर्छ कि भनेको थिएँ, उनीहरूले पनि केही गर्दैनन्। सबै युवाहरू आफू प्रधानमन्त्री हुन्छु भन्छन् तर एकआपसमा मिल्दैनन् ', पुनले भने।
हामीले चुनाव लड्ने निर्णय गर्नुका कारण सोध्दा उनले माघ ४ गते राति सांसदको चुनाव लड्ने सोच बनाएकाे बताए। उनले भने, 'मैले तीन-चार वटा अध्यादेश र नियमावली ल्याउन खोजेको थिएँ। त्यो पूरा भइदिएको भए म यो चुनाव लड्ने थिइनँ। ती अध्यादेश र नियमावलीबाट नेपालको शिक्षा क्षेत्र र विज्ञान मन्त्रालय बलियो बनाउने उद्देश्य लिएको पुन बताउँछन्। शिक्षा क्षेत्र सुधार्न र विज्ञान मन्त्रालयलाई राम्रो बनाउन खोजेको थिएँ, सकिनँ,' पुनले भने, 'मैले ल्याउन खोजेका कतिपय अध्यादेश मन्त्रिपरिषदमा पेस भएर थप अध्ययनका लागि विधान समितिमा थिए। नियमावली पनि बनाएर अन्तिम चरणमा पुगिसकेको थियो।'
उनले भने, 'देशलाई समृद्ध बनाउन नगरी नहुने र मैले ल्याउन खोजेका तीन वटा अध्यादेश र चार वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनाव लड्ने थिइनँ। एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झाए। अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ,' उनले भनेका छन्। पुनले आफ्नो फेसबुकमा 'अध्यादेश र नियमावली ल्याउन मुख्य सचिवले रोकेको' बताएका छन्। 'मैले अन्तिम घडीसम्म पनि ट्राई गरेँ, तर मिलेन। अनि राजीनामा दिएर चुनाव लड्न हिँडेँ,' उनले भने।
मन्त्री भएर मात्र आफूले चाहेको कानुन बनाउन नसकेपछि त्यसका लागि सांसद बन्नुपर्ने रहेछ भन्ने लागेको र चुनाव लड्न हिँडेको उनको भनाइ छ। पुनले ल्याउन खोजेका ती अध्यादेश र नियमावली चुनावी आचारसंहिताका कारण रोकिएको भन्ने सरकारी अधिकारीहरूको भनाइ छ। चुनावको मुखमा दीर्घकालीन महत्त्वका कानुन, नियमावली ल्याउन नमिल्ने हुँदा थाती रहेको शिक्षा मन्त्रालयले जनाएकाे छ।