जुम्ला- कर्णाली प्रदेशको जुम्लास्थित देशकै जेठो कर्णाली प्राविधिक शिक्षालय स्तरोन्नति अभावमा जीर्ण भवनमै सञ्चालन भइरहेको छ। २०३७ सालमा स्थापना भएको मुलुककै जेठो प्राविधिक शिक्षालय राज्यको उपेक्षामा परेको छ। चार दशक समय बित्दा पनि शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाको भरमा चलेको छ। प्राविधिक शिक्षाप्रति विद्यार्थीको मोह बढ्दै गए पनि स्तरोन्नति नहुँदा जीर्ण भवनमा सञ्चालन भइरहेको हो।
कर्णाली प्राविधिक शिक्षालयलाई राज्यले मात्र उपेक्षा गरेको छैन। २०६४ सालयता निर्वाचन जितेका सबै प्रतिनिधिले बेवास्ता गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। नेकपा एमालेको वाचापत्रको बुदाँ नम्बर ३ मा कर्णाली प्राविधिक शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालय निर्माणमा प्राथामिकता दिने उल्लेख छ।
भने नेपाली कांग्रेसको प्रतिज्ञापत्रको बुदाँ नम्बर २ मा शिक्षालयलाई प्राविधिक विश्व विद्यालय बनाउने पहल गर्ने उल्लेख छ। भने प्रलोपको सकंल्प पत्रको बुदाँ नम्बर ५ मा शिक्षालय सुधारको ठोस योजना बनाउने उल्लेख छ। अन्य सात जना उम्मेदवारको चुनावी घोषणापत्र आउन बाँकी छ। वर्षौंदेखि जीर्ण भएका भवन पुनर्निर्माण गर्ने, पठनपाठनलाई व्यवस्थित गर्ने कोठा थप गर्न पहल गर्ने कुरालाई प्राथामिकता दिनुको सट्टा शिक्षालयलाई विश्वविद्यालय बनाउने महोत्वाकांक्षी चुनावी एजेन्डा बनाएका छन्।
२०६४ यताका निर्वाचनमा उठेका सबै उम्मेदवारले शिक्षालय सुधारको एजेन्डा नबाएका होइनन्। तर २०३७ सालमा स्थापना भएको शिक्षालयमा अहिलेसम्म चुहिने जीर्ण भवन मर्मत हुन सकेका छैनन्। कार्यान्वयन गर्न सक्नेभन्दा, असम्भव राज्यको स्रोतसाधनले समेत नधान्ने विश्वविद्यालय बनाउने कुराले शिक्षालय सुधारको सवालमा दलहरूको चुनावी एजेन्डामै सीमित हुने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए।
उनका अनुसार शिक्षालयमा हाल प्रयाप्त भौतिक पूर्वाधारको खाँचो छ। तर ‘दलहरूले विश्वविद्यालय बनाउने कुरा गर्दै छन्, यस शिक्षालयको स्तरोन्नति हुनेमा शंका छ,’ उनले भने बितेको चार दशकमा कर्णाली प्राविधिक शिक्षालयबाट ६ हजार बढी दक्षजनशक्ति उत्पादन भइसकेका छन्। शिक्षालयबाट उत्पादित झन्डै ४ हजार दक्ष जनशक्तिले राज्यका विभिन्न उच्च ओहोदामा मात्र रोजगार भएको शिक्षालयको तथ्यांक छ।
तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन हुन बाध्य छ। चुहिने छानाभित्रै छात्रावास चलेका छन्। हाल शिक्षालयमा ५८ वटा भवन छन्। त्यसमध्ये अधिकांश भवन निकै पुराना जीर्ण अवस्थामा रहेका छन्। हाल शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन्। जसमा सिभिलतर्फ १३५ जना, फारमेसीतर्फ ११४ जना, एजी प्लान्ट साइन्सतर्फ १२८ जना, फरेस्टीतर्फ ७५ जना र एचएतर्फ ३८ जना गरी कुल ४९० विद्यार्थी अध्ययनरत रहेको शिक्षालय प्रमुख विकल अधिकारीले बताए।
शिक्षालयका कुल ५८ वटा भवनमध्ये जीर्ण भएका संरचनाको पुनर्निर्माणका लागि धेरैपटक पहल गरे पनि बजेट नजुट्दा मर्मत भएका छैनन्। ५८ भवनमध्ये कर्मचारी आवास भवन २४ वटा, छात्रावास भवन तीनवटा छात्र भवन नौवटा, शैक्षिक भवन चारवटालगायतका भवन रहेका छन्। शिक्षालयलाई विश्व विद्यालय बनाउने महत्त्वाकांक्षी योजना जनतालाई बाँड्नुभन्दा विपन्न बालबालिकाले प्राविधिक शिक्षा आर्जन गर्न पाउने नीति, शिक्षालयको भौतिक संरचना सुधारलगायतका कुरामा ध्यान दिनुपर्ने जुम्लावासीको सुझाव छ।
यद्यपि जुम्लाका उम्मेदवारले भने जनतामाझ निकै महत्त्वाकांक्षी योजना बाँड्दै हिँडेका छन्। ‘शिक्षालयलाई विश्व विद्यालय बनाउने एजेन्डा स्वागतयोग्य छ,’ शिक्षालय प्रमुख अधिकारी भन्छन्, ‘तर भौतिक पूर्वाधारकै समस्या छ। पुराना संचरनाको मर्मत गर्नुपर्ने अवस्था छ। हरेक वर्ष सरकारले ल्याउने बजेटमा शिक्षालय उपेक्षामा पर्छ। अहिले एजेन्डा बनाउने तर पछि काम नहुने समस्या छ। शिक्षालय सुधारमा सबैको सहयोगको अपेक्षा छ।’