काठमाडौँ- राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक गरेको छ। यस सर्वेक्षणमार्फत शिक्षण संस्थाको संरचनागत स्थिति, स्वामित्वको प्रकार, संलग्न जनशक्ति तथा रोजगारीको अवस्था, विद्यार्थी संख्या तथा शिक्षण शुल्क, तलब-ज्याला, संस्था संचालनमा हुने सालबसाली खर्च, स्थायी सम्पत्ति, उपलब्ध सेवा सुविधाहरू लगायत विविध विषय समावेश गरी देशभरबाट प्रदेश तहसम्मको नतिजा प्राप्त गर्न सकिने गरी सर्वेक्षण संचालन गरिएको हो।
सर्वेक्षणको नतिजाअनुसार देशभर सरकारी बाहेकका १० हजार ४११ शिक्षण संस्थाहरु सञ्चालनमा रहेका छन्। प्रदेशगत रूपमा हेर्दा देशभर रहेका सरकारी बाहेकका कुल शिक्षण संस्थामध्ये २७.९ प्रतिशत (२,९०३) शिक्षण संस्था बागमती प्रदेशमा सञ्चालनमा रहेको पाइएको छ। कोशी र मधेश प्रदेशमा क्रमशः १८.४ प्रतिशत र १८.२ प्रतिशत (१,९१७ र १,८९१) गरी करिब समान संख्यामा शिक्षण संस्था रहेका छन्। त्यसैगरि लुम्बिनी प्रदेशमा १४.९ प्रतिशत (१,५५६), सुदूरपश्चिम प्रदेशमा ८.७ प्रतिशत (९०७), गण्डकी प्रदेशमा ८.३ प्रतिशत (८६२), र सबैभन्दा कम ३.६ प्रतिशत (३७५) वटा शिक्षण संस्था कर्णाली प्रदेशमा सञ्चालनमा रहेको पाइएको छ।

कूल सरकारी स्वामित्त्व वाहेकका शिक्षण संस्थाहरु मध्ये पूर्वप्राथमिक तथा आधारभूत तहका शैक्षिक संस्थाहरु ४३ प्रतिशत (४,५२२), माध्यमिक तहका ४१ प्रतिशत (४,३१९) र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू १२ प्रतिशत (१,२६८) रहेका छन्। यसैगरी, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरु सबैभन्दा कम करिब ३ प्रतिशत (३०१) वटा संस्था सञ्चालनमा रहेको पाइएको छ।

सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूबाट सन्दर्भ वर्षमा करिब १९५ अर्ब रुपैयाँ बराबरको कुल उत्पादन र सो उत्पादन गर्नका लागि ३५.४ अर्ब रुपैयाँ बराबरको मध्यवर्ती उपभोग गरेको देखिन्छ। त्यसैगरि यी शिक्षण संस्थाहरुको सन्दर्भ वर्षमा ११४ अर्ब रुपैयाँ बराबरको कुल लागत रहेको पाइएको छ। सन्दर्भ अवधिमा नेपालको अर्थतन्त्रमा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूले करिब १६० अर्ब रुपैयाँ बराबरको कुल मूल्य अभिवृद्धि गरेको पाइएको छ।
सोही अवधिमा शिक्षण संस्थाहरूले तलब-ज्याला तथा अन्य सुविधा अन्तर्गत करिब ७५ अर्ब रुपैयाँ खर्च गरेको र सन्दर्भ वर्ष सम्ममा शिक्षण संस्थामा करिब ३०९ अर्ब रुपैयाँ बराबरको स्थिर पुँजी लगानी रहेको पाइएको छ। सरकारी बाहेकको शिक्षण संस्थाहरूको संचालन स्वामित्वको आधारमा हेर्दा ५२.१ प्रतिशत (५,४२१) शिक्षण संस्थाहरु प्राइभेट लिमिटेड, २०.८ प्रतिशत (२,१६३) शिक्षण संस्थाहरु व्यक्तिगत, १४.८ प्रतिशत (१,४३९) शिक्षण संस्थाहरु साझेदारी, ७.२ प्रतिशत (७४६) शिक्षण संस्थाहरु शैक्षिक गुठी (७४६) अन्तर्गत र ५.२ प्रतिशत (५४२) शिक्षण संस्थाहरु सामुदायिक शिक्षण संस्थाकोरुपमा संचालनमा रहेको पाइएको छ।
यसरी हेर्दा सरकारी बाहेकको शिक्षा क्षेत्रमा निजी लगानी बढी देखिन्छ। नेपालका सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूको भौतिक संरचना हेर्दा करिब ५० प्रतिशत भन्दा बढि संस्था आफ्नै भवनमा, करिब ३५ प्रतिशत भाडाको भवनमा र करिब १२ प्रतिशत लिज अन्तर्गत सञ्चालनमा रहेको पाइएको छ।
सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा जम्मा ३ लाख ११ हजार ५१६ जना व्यक्ति संलग्न रहेका छन् भने ३ लाख २१ जना तलब-ज्याला पाउने कर्मचारीको रुपमा कार्यरत रहेको पाइएको छ। तलब-ज्याला पाउने जम्मा कर्मचारीहरुमध्ये २ लाख २१ हजार ५०४ जना (७४ प्रतिशत) शिक्षण र ७८ हजार ५१७ जना (२६ प्रतिशत) गैर–शिक्षण कर्मचारीको रुपमा रहेका छन्।
शिक्षण कार्यमा संलग्न जनशक्तिहरु मध्ये करिब ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत आंशिक रुपमा रहेका छन भने गैर–शिक्षण तर्फ करिब ९६ प्रतिशत पूर्णकालीन र ४ प्रतिशत मात्र आंशिक कर्मचारी कार्यरत रहेको पाइएको छ। शिक्षण तथा गैरशिक्षण कर्मचारी मध्ये १ लाख ४५ हजार ६१० जना पुरुष र १ लाख ५४ हजार ४११ जना महिला रोजगारीमा रहेका छन्। नतिजा अनुसार सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा विद्यार्थीहरूको मुख्य हिस्सा विद्यालय तह (पूर्वप्राथमिक तह, आधारभूत तह र माध्यमिक तह) मा रहेको पाइएको छ।

सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०८०-८१ मा पूर्वप्राथमिक तह देखि उच्च शिक्षासम्म गरी कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेको पाइएको छ। सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा पूर्वप्राथमिक तहमा करिब ९ लाख ३२ हजार, आधारभूत शिक्षा (कक्षा १–८) मा झण्डै १८ लाख ६४ हजार, माध्यमिक तह (कक्षा ९–१२) मा करिब ४ लाख ९१ हजार, उच्च शिक्षा तह (स्नातक तथा सोभन्दा माथि) मा करिब ४ लाख ६६ हजार र प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा जम्मा ३५ हजार ६८८ विद्यार्थी रहेको देखिन्छ। नेपालभर सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूमा उच्च शिक्षा अध्ययन गर्ने ४ लाख ६६ हजार ८०५ विद्यार्थीमध्ये २ लाख १४ हजार ९९७ जना अर्थात् करिब ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा अध्ययनरत रहेको पाइएको छ।
संकायगतरुपमा हेर्दा व्यवस्थापन तथा वाणिज्य संकाय अन्तरगत २ लाख ३६ हजार ५८१ (५१ प्रतिशत), शिक्षा संकायमा १ लाख १२ हजार ७७६ विद्यार्थी (२७ प्रतिशत), मानविकि तथा सामाजिक शास्त्र संकायमा ४१ हजार ९ जना (९ प्रतिशत), विज्ञान तथा प्रविधि अध्ययन संकायमा ३६ हजार १५९ (७ प्रतिशत), इञ्जिनियरिङ अध्ययन संकायमा २१ हजार ७३९ (४ प्रतिशत) र अन्य संकायमा १८ हजार ५४२ विद्यार्थी (३ प्रतिशत) विद्यार्थी अध्ययनरत रहेको पाइएको छ।
प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशमा बाहेक सवै प्रदेशहरूमा व्यवस्थापन तथा वाणिज्य संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या धेरै रहेको छ। कर्णाली प्रदेशमा भने उच्च शिक्षा अध्ययनरत कुल १५ हजार ७२६ विद्यार्थीमध्ये १० हजार ९६२ जना (७० प्रतिशत) शिक्षा संकाय अन्तरगत अध्ययनरत रहेको पाइएको छ।



