काठमाडौँ- राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजाले सरकारको शिक्षामा भएको लगानीमाथि नै प्रश्न उठाएको छ। सरकारले कुल बजेटको सबैभन्दा ठूलो हिस्सा शिक्षा क्षेत्रमा नै विनियोजन गर्ने गरेको भएपनि सरकारको तथ्याङ्कले भने सरकारको शिक्षामा लगानी बालुवामा पानी झै भएको चित्र सार्वजनिक गरेको छ।
नेपालमा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूको संख्या, लगानी, रोजगारी तथा शैक्षिक योगदानको चित्र हेर्दा निजी तथा गैरसरकारी शिक्षण संस्थाहरूमा ३ लाखभन्दा बढी कर्मचारी कार्यरत छन् जहाँ ३७ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सरकारले आधारभुत तह कक्षा १ देखि ८ सम्म निशुल्क शिक्षा भनिरहदा ठूलो संख्यामा विद्यार्थी र अभिभावक भने शुल्क तिरेर पढ्न बाध्य भएको तथ्याङ्क सार्वजनिक भएको हो।

सर्वेक्षणअनुसार गैरसरकारी शिक्षण संस्थाहरूमा कार्यरत शिक्षण तथा गैरशिक्षण कर्मचारीमध्ये १ लाख ४५ हजार ६१० पुरुष र १ लाख ५४ हजार ४११ महिला रहेका छन्। शिक्षणतर्फ अधिकांश कर्मचारी पूर्णकालीन रूपमा कार्यरत छन् भने गैरशिक्षणतर्फ पनि करिब ९६ प्रतिशत कर्मचारी पूर्णकालीन रहेका छन्।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी १ लाख १७ हजार २२१ जना रोजगारीमा रहेको पाइएको छ, जुन कुल रोजगारीको करिब ३९ प्रतिशत हो। त्यसपछि कोशी प्रदेशमा ४८ हजार ७१०, मधेश प्रदेशमा ४० हजार ३३३, लुम्बिनी प्रदेशमा ३४ हजार १२०, गण्डकी प्रदेशमा २४ हजार ५५५ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ५७८ जना कार्यरत छन्। सबैभन्दा कम रोजगारी कर्णाली प्रदेशमा रहेको सर्वेक्षणले देखाएको छ।
विद्यार्थी संख्याको हिसाबले पनि विद्यालय तहमा अध्ययन गर्नेहरूको संख्या अत्याधिक रहेको छ। शैक्षिक सत्र २०८०/८१ मा गैरसरकारी शिक्षण संस्थाहरूमा कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्कले देखाएको छ। तीमध्ये करिब ९ लाख ३२ हजार विद्यार्थी पूर्वप्राथमिक तहमा, १८ लाख ६४ हजार आधारभूत तहमा, ४ लाख ९१ हजार माध्यमिक तहमा, ४ लाख ६६ हजार उच्च शिक्षामा तथा ३५ हजार ६८८ विद्यार्थी प्राविधिक तथा व्यावसायिक शिक्षामा अध्ययनरत छन्।
उच्च शिक्षातर्फ अध्ययनरत विद्यार्थीमध्ये ४६ प्रतिशत विद्यार्थी बागमती प्रदेशमा केन्द्रित रहेका छन्। बागमती प्रदेशमा मात्र २ लाख १४ हजार ९९७ विद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेका छन्। संकायगत रूपमा हेर्दा व्यवस्थापन तथा वाणिज्य संकाय सबैभन्दा लोकप्रिय देखिएको छ। यस संकायमा २ लाख ३६ हजार ५८१ विद्यार्थी (५१ प्रतिशत) अध्ययनरत छन्। त्यसपछि शिक्षा संकायमा १ लाख १२ हजार ७७६, मानविकी तथा सामाजिक शास्त्रमा ४१ हजार ९, विज्ञान तथा प्रविधिमा ३६ हजार १५९, इञ्जिनियरिङमा २१ हजार ७३९ तथा अन्य संकायमा १८ हजार ५४२ विद्यार्थी अध्ययनरत रहेका छन्।
कर्णाली प्रदेशमा भने अन्य प्रदेशको भन्दा फरक अवस्था देखिएको छ। त्यहाँ उच्च शिक्षा अध्ययनरत कुल १५ हजार ७२६ विद्यार्थीमध्ये ७० प्रतिशत अर्थात् १० हजार ९६२ विद्यार्थी शिक्षा संकायमा अध्ययनरत रहेको तथ्याङ्कले देखाएको छ।
सर्वेक्षणले शिक्षण पूर्वाधारको अवस्थासमेत उजागर गरेको छ। देशभरका गैरसरकारी शिक्षण संस्थाहरूमा २८ हजार २३५ भवन र १ लाख ६२ हजार ५४८ कक्षा कोठा रहेका छन्। एउटा संस्थामा औसत २.७ भवन र १७.५ कक्षा कोठा रहेको देखिएको छ।
त्यस्तै, शिक्षण संस्थाहरूले सञ्चालन खर्च, तलब तथा भत्तामा ठूलो रकम खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ। राष्ट्रिय औसतअनुसार एक शिक्षण संस्थाले वार्षिक रूपमा करिब १ करोड २२ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशका संस्थाहरूको वार्षिक खर्च सबैभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणले गैरसरकारी शिक्षण संस्थाहरूले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको देखाएको छ। सन्दर्भ वर्षमा यस्ता संस्थाहरूबाट करिब १९५ अर्ब रुपैयाँ बराबरको कुल उत्पादन भएको छ भने सो उत्पादनका लागि ३५.४ अर्ब रुपैयाँ बराबरको मध्यवर्ती उपभोग गरिएको छ। त्यस्तै, कुल लागत ११४ अर्ब रुपैयाँ रहेको तथा अर्थतन्त्रमा करिब १६० अर्ब रुपैयाँ बराबरको मूल्य अभिवृद्धि गरेको तथ्याङ्कले देखाएको छ।
शिक्षण संस्थाहरूले तलब, ज्याला तथा अन्य सुविधामा करिब ७५ अर्ब रुपैयाँ खर्च गरेका छन् भने यस क्षेत्रमा ३०९ अर्ब रुपैयाँ बराबरको स्थिर पुँजी लगानी रहेको पाइएको छ। स्वामित्वका आधारमा हेर्दा ५२.१ प्रतिशत (५ हजार ४२१) शिक्षण संस्था प्राइभेट लिमिटेडका रूपमा सञ्चालनमा छन्। त्यसैगरी २०.८ प्रतिशत (२ हजार १६३) व्यक्तिगत, १४.८ प्रतिशत (१ हजार ४३९) साझेदारी, ७.२ प्रतिशत (७४६) शैक्षिक गुठी र ५.२ प्रतिशत (५४२) सामुदायिक शिक्षण संस्थाका रूपमा सञ्चालनमा रहेका छन्। यसले नेपालको शिक्षा क्षेत्रमा निजी लगानीको प्रभाव उल्लेखनीय रहेको देखाउँछ।
भौतिक संरचनातर्फ करिब ५० प्रतिशतभन्दा बढी संस्था आफ्नै भवनमा, ३५ प्रतिशत भाडाको भवनमा र १२ प्रतिशत लिजमा सञ्चालनमा रहेको सर्वेक्षणले जनाएको छ। रोजगारीको दृष्टिले गैरसरकारी शिक्षण संस्थामा ३ लाख ११ हजार ५१६ जना व्यक्ति संलग्न रहेका छन्। तीमध्ये ३ लाख २१ जना तलब–ज्याला पाउने कर्मचारी रहेका छन्। कर्मचारीमध्ये २ लाख २१ हजार ५०४ जना (७४ प्रतिशत) शिक्षण र ७८ हजार ५१७ जना (२६ प्रतिशत) गैरशिक्षण सेवामा कार्यरत छन्।
शिक्षक तथा कर्मचारीमध्ये १ लाख ४५ हजार ६१० पुरुष र १ लाख ५४ हजार ४११ महिला कार्यरत रहेका छन्। शिक्षणतर्फ करिब ८१ प्रतिशत पूर्णकालीन र १९ प्रतिशत आंशिककालीन छन् भने गैरशिक्षणतर्फ ९६ प्रतिशत पूर्णकालीन कर्मचारी कार्यरत रहेका छन्।
सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८०/८१ मा गैरसरकारी शिक्षण संस्थाहरूमा कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत रहेका छन्। तीमध्ये ९ लाख ३२ हजार पूर्वप्राथमिक तहमा, १८ लाख ६४ हजार आधारभूत तहमा, ४ लाख ९१ हजार माध्यमिक तहमा, ४ लाख ६६ हजार उच्च शिक्षामा तथा ३५ हजार ६८८ विद्यार्थी प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रि–डिप्लोमा तथा डिप्लोमा तहमा अध्ययनरत रहेका छन्। उच्च शिक्षातर्फ अध्ययनरत ४ लाख ६६ हजार ८०५ विद्यार्थीमध्ये २ लाख १४ हजार ९९७ (४६ प्रतिशत) विद्यार्थी बागमती प्रदेशमा अध्ययनरत रहेको पाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सर्वेक्षणले नेपालको गैरसरकारी शिक्षा क्षेत्रले रोजगारी सिर्जना, लगानी विस्तार तथा शैक्षिक पहुँच अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको तथ्य उजागर गरेको छ।