पोखरा- अटिजम भएका बालबालिकालाई लक्षित गर्दै पोखरा महानगरपालिकाले नमूना विद्यालय सञ्चालनमा ल्याएको छ। महानगरपालिका–१७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयअन्तर्गत स्रोत कक्षासहित विद्यालय स्थापना गरिएको हो। महानगरपालिकाले गत वर्ष कार्यविधि पारित गरेपछि भदौ २२ गतेदेखि विद्यालय सञ्चालनमा ल्याएको थियो।
सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयको औपचारिक उद्घाटन गरे।विद्यालय सञ्चालनका लागि महानगरपालिकाले एक जना फिजियोथेरापिस्ट, चार जना आया र चार जना कार्यालय सहयोगीको व्यवस्था गरेको छ। शिक्षा अधिकृत रामप्रसाद तिवारीका अनुसार फिजियोथेरापिस्टलाई माध्यमिक तहका शिक्षक सरह तलब तथा अन्य कर्मचारीलाई नेपाल सरकारको तलबमानअनुसार पारिश्रमिक उपलब्ध गराइँदै आएको छ।
हाल विद्यालयमा अटिजम भएका ४० जना विद्यार्थी अध्ययनरत छन्। एक सय २० जना बालबालिकाको आवेदन परे पनि आवश्यकता र अवस्थाको गम्भीरताका आधारमा ४० जनालाई छनोट गरिएको विद्यालयका पूर्वअध्यक्ष हरी बास्तोलाले जानकारी दिए।
उनले अटिजम रोग नभई एक अवस्था भएको समाज र राज्यलाई बुझाउन अझै चुनौती रहेको उल्लेख गर्दै यस्ता विशेष विद्यालयले अटिजम भएका बालबालिकाको शिक्षा र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
संघीय सरकारले चालु आर्थिक वर्षभित्र सातै प्रदेशमा एक-एक अटिजम लक्षित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ। विश्व अटिजम सचेतना दिवसको अवसरमा सार्वजनिक गरिएको नीतिअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय स्थापना तथा सञ्चालनको अवधारणापत्र तयार गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो।
समितिले करिब तीन महिनाको अध्ययनपछि तयार पारेको प्रतिवेदन हालै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई बुझाएको छ। प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले अवधारणालाई शीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। सरकारले सञ्चालन गर्ने अटिजम बेस्ड मोडल स्कुलमा विशेष शिक्षण पद्धति, प्रशिक्षित शिक्षक, मनोवैज्ञानिक परामर्श सेवा तथा बालमैत्री पूर्वाधारको व्यवस्था गरिने जनाएको छ। यस्ता विद्यालयले अटिजम भएका बालबालिकाको सिकाइ शैलीअनुकूल वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।
नेपालमा हालसम्म अटिजम भएका व्यक्तिहरूको आधिकारिक राष्ट्रिय तथ्यांक उपलब्ध छैन। राष्ट्रिय जनगणना तथा सरकारी सर्वेक्षणमा अटिजमलाई छुट्टै रूपमा समेटिएको छैन। यद्यपि अन्तर्राष्ट्रिय अध्ययनअनुसार विश्वभर करिब प्रत्येक ३६ बालबालिकामध्ये एक जनामा अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD) देखिने गरेको अनुमान छ।
विशेष शिक्षासम्बन्धी सेवा र संस्थाको अभाव रहेको नेपालमा पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको यो नमूना विद्यालयलाई अटिजम भएका बालबालिकाका लागि समावेशी र गुणस्तरीय शिक्षाको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।