काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीले प्रयोग गर्ने पिउने पानीको गुणस्तर परीक्षण गर्ने भएको छ।
महानगरपालिकाले विद्यालयसँगै वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पानीको समेत नमुना संकलन गरी प्रयोगशालामार्फत परीक्षण गर्ने तयारी गरेको हो।
विद्यालयका बालबालिकालाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमुना संकलन तथा परीक्षण प्रक्रियासम्बन्धी अभिमुखीकरण सुरु गरेको छ। वडा नम्बर १ बाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम क्रमशः महानगरका सबै वडामा सञ्चालन गरिने जनाइएको छ।
महानगरका अनुसार अभिमुखीकरणमा वडा जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानी उत्पादक र वितरकलाई सहभागी गराइनेछ।
महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत समुदाय, स्वास्थ्य संस्था तथा विद्यालयमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइँकेलका अनुसार तालिम प्राप्त व्यक्तिमार्फत पानीको नमुना संकलन गरिनेछ। संकलित नमुनाको प्रयोगशाला परीक्षणबाट प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधारका आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।
विद्यालयमा बालबालिकाले दिनको ठूलो समय बिताउने भएकाले उनीहरूले नियमित रूपमा प्रयोग गर्ने पिउने पानीको गुणस्तर स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको महानगरको भनाइ छ।
धारा, जार वा अन्य स्रोतबाट आउने पानी सफा र सङ्लो देखिँदैमा पिउनयोग्य छ भन्ने सुनिश्चित नहुने भएकाले प्रयोगशाला परीक्षणमार्फत पानीमा रहेका सम्भावित समस्या पहिचान गरिनेछ। परीक्षणबाट प्राप्त नतिजाका आधारमा आवश्यक सुधारका उपाय अघि बढाइने महानगरले जनाएको छ।