काठमाडौँ- काठमाडौँको बौद्धस्थित खावालिङ स्कुलमा एक शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर चासो व्यक्त गरेको छ।
सामाजिक सञ्जालमा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई शिक्षिका सोना रानाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेका हुन्। मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेट गरी घटनाबारे जानकारी लिएका थिए। उनले विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न प्रोत्साहनसमेत गरेका छन्।
छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक परे घटनामा कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बतए। साथै, विद्यार्थीमा थप मनोवैज्ञानिक असर नपर्ने गरी घटनामा संलग्न शिक्षिकालाई आवश्यक परामर्श र सचेतना प्रदान गर्न विद्यालयलाई निर्देशन दिए। भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकका लागि नियमित तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पनि उनले जोड दिए।
मन्त्रालयका अनुसार कुटपिटको घटना करिब एक वर्षअघि, विसं २०८२ को पुस महिनामा भएको भए पनि यस्ता घटना पुनः नदोहोरिउन् भन्ने उद्देश्यले अहिले विद्यालय र पीडित पक्षसँग छलफल गरी आवश्यक पहल गरिएको हो। भिडियोमा बाग्लुङ घर भएका १३ वर्षीय विद्यार्थीमाथि शिक्षिका रानाले कुटपिट गरेको दृश्य देखिएको छ।
यसैबीच, घटनामा संलग्न शिक्षिका सोना रानाले सार्वजनिक रूपमा माफी माग्दै भविष्यमा यस्तो कार्य नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार घटनाबारे छानबिनपछि शिक्षिका रानालाई गत जेठमै विद्यालयबाट निष्कासन गरिएको थियो। उनका अनुसार उक्त भिडियो विद्यालयकै एक शिक्षकले खिचेका थिए, जुन अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
प्रधानाध्यापक रानाले भिडियो सार्वजनिक गर्ने शिक्षकलाई पनि अध्यापन कार्य सन्तोषजनक नभएको कारण अघिल्लो वर्ष वैशाखमै विद्यालयबाट हटाइएको जानकारी दिए। विद्यालयले निष्कासनप्रतिको असन्तुष्टिका कारण ती शिक्षकले अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएको दाबी गरेको छ।