चितवन- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित चेपाङ समुदायका बालबालिका अध्ययनरत श्रीगणेश माध्यमिक विद्यालयको अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री पोखरेलले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, आवासीय व्यवस्थापन तथा शिक्षण–सिकाइको समग्र अवस्थाबारे जानकारी लिएका थिए। उनले विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गर्दै विद्यालयको वर्तमान अवस्था र आवश्यकताबारे सुझावसमेत संकलन गरेका हुन्।
छलफलमा सहभागी शिक्षक, कर्मचारी तथा अभिभावकहरूले विद्यालयको पूर्वाधार सुदृढीकरण, शैक्षिक सामग्री तथा स्रोत–साधनको व्यवस्थापन, आवासीय सुविधाको विस्तार तथा स्थानीय स्तरमा देखिएका विभिन्न समस्याबारे मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए। साथै, चेपाङ समुदायका बालबालिकाको विद्यालय पहुँच बढाउने, गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने र आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए।
अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्। यस्ता विद्यालयले भोगिरहेका चुनौतीहरूको समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालय आवश्यक नीति, कार्यक्रम र स्रोत व्यवस्थापनमार्फत सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताएका छन्।
मन्त्री पोखरेलले समुदाय, स्थानीय तह र विद्यालयबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सबै बालबालिकाले समान र गुणस्तरीय शिक्षाको अवसर प्राप्त गर्ने वातावरण निर्माणमा सरकार लागिपरेको पनि उल्लेख गरेका छन्।