काठमाडौँ- विद्यालय तह (कक्षा १ देखि १२ सम्म) मा थप आठ वटा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरिएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका ती पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ। शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को हालै बसेको बैठकले आठ वटा नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरेको हो।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषद्का सदस्यसचिव युवराज पौडेलका अनुसार कानुनी व्यवस्थाअनुसार परिषद्बाट सिफारिस भएपछि अन्तिम स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था छ। सिफारिस गरिएका नयाँ पाठ्यक्रममध्ये आधारभूत तह (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम रहेका छन्। त्यसैगरी माध्यमिक तह (कक्षा ९–१०) का लागि जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिस गरिएको छ।
यस्तै कक्षा ११–१२ का लागि संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम मन्त्रालयमा पठाइएको छ। मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि यी पाठ्यक्रम विद्यालयमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइनेछ। नयाँ आठ वटा पाठ्यक्रम थपिएसँगै विद्यालय तहका लागि तयार गरिएका पाठ्यक्रमको संख्या ३०० भन्दा बढी पुग्ने भएको छ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार विज्ञ, शिक्षक तथा सरोकारवालाबाट प्राप्त सुझाव र आवश्यकताका आधारमा नयाँ पाठ्यक्रम निर्माण गरिन्छ। तर निर्माण गरिएका सबै पाठ्यक्रम विद्यालयमा कार्यान्वयन हुन सकेका छैनन्।
उनकाअनुसार कतिपय विषयमा विद्यार्थीको संख्या कम हुनु, विषयगत शिक्षकको अभाव हुनु तथा कार्यान्वयनसम्बन्धी व्यवस्थापकीय चुनौतीका कारण केही पाठ्यक्रम व्यवहारमा आउन सकेका छैनन्। घिमिरेले पाठ्यक्रम विकास केन्द्रको मुख्य जिम्मेवारी पाठ्यक्रम निर्माण गर्ने भएकाले त्यसको कार्यान्वयन सम्बन्धित निकायको जिम्मेवारी रहने बताए।
एउटै विषयका लागि पनि विभिन्न तहअनुसार छुट्टाछुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने भएकाले विद्यालय तहमा पाठ्यक्रमको संख्या धेरै देखिएको हो। उदाहरणका लागि नेपाली विषयकै पाठ्यक्रम कक्षा १–३, ४–५, ६–८, ९–१० तथा ११–१२ का लागि अलग–अलग तयार गर्नुपर्ने व्यवस्था रहेको उनले बताए।