काठमाडौँ- शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँले जिल्लान्तर सरुवाका लागि प्राथमिकतामा परेका दुई शिक्षकको नाम सार्वजनिक गर्दै तीन दिनभित्र दाबी विरोध पेस गर्न आग्रह गरेको छ।
एकाइले सोमबार सूचना जारी गर्दै शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) को नियम ९९ अनुसार रिक्त दरबन्दीमा जिल्लान्तर सरुवाका लागि आवेदन दिएका शिक्षकहरूको प्राथमिकता निर्धारण गरिएको जनाएको छ।
सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय, शिक्षा विकास तथा समन्वय एकाइको सरुवा सहमति तथा सम्बन्धित दुवै स्थानीय तहको सहमति प्राप्त भएपछि सरुवा प्रक्रिया अघि बढाइएको एकाइले जनाएको छ।
सूचनाअनुसार चन्द्रागिरी नगरपालिकास्थित कंकाली माध्यमिक विद्यालयमा माध्यमिक तह नेपाली विषयतर्फ दिलबहादुर तामाङ जिल्लान्तर सरुवाका लागि प्राथमिकतामा परेका छन्। उनी निवेदक संख्या २७ हुन्।
त्यस्तै, शंखरापुर नगरपालिकास्थित चाँपाबोट माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह नेपाली विषयतर्फ सीता विक प्राथमिकतामा परेकी छन्। उनी निवेदक संख्या ६ हुन्।
एकाइ प्रमुख सुरेशकुमार जोशीद्वारा जारी सूचनामा सरुवा प्रक्रियासम्बन्धी कुनै दाबी विरोध भए प्रमाणसहित तीन दिनभित्र शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँमा निवेदन पेस गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
तोकिएको अवधिभित्र दाबी विरोध नपरेमा सरुवा प्रक्रिया अघि बढाइने जनाइएको छ।
