काठमाडौँ- राहत तथा करार शिक्षक संघर्ष समितिले प्रोत्साहन भत्तासहितका सेवासुविधा तत्काल उपलब्ध गराउन माग गर्दै शिक्षा, खेलकुद तथा प्रविधिमन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएको छ।
सामुदायिक विद्यालयमा शिक्षक अभाव पूर्ति गर्दै लामो समयदेखि काम गरिरहेका राहत तथा करार शिक्षकलाई सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता तथा अन्य सेवासुविधाबाट वञ्चित गरिएको भन्दै समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको हो।
स्थायी शिक्षकसरह समान कार्यबोझ, जिम्मेवारी र दायित्व निर्वाह गरिरहेका आफूहरूका मागप्रति मन्त्रालयले पर्याप्त चासो नदेखाएको समितिको गुनासो छ। यसबाट राहत तथा करार शिक्षकको मनोबलमा समेत असर परेको समितिले जनाएको छ।
समितिले पूर्वसहमति तथा प्रचलित व्यवस्थाअनुसार उपलब्ध गराउनुपर्ने प्रोत्साहन भत्ता तत्काल निकासा गरी वितरण गर्न माग गरेको छ।
त्यस्तै, सरकार, शिक्षक महासंघ तथा विभिन्न शिक्षक संघसंगठनबीच भएका पूर्वसहमति पूर्ण रूपमा कार्यान्वयन गर्दै राहत तथा करार शिक्षकका सेवासुविधाबारे स्पष्ट नीतिगत व्यवस्था गर्न समितिले आग्रह गरेको छ।
‘समान कामका लागि समान सुविधा’को सिद्धान्त कार्यान्वयन गर्दै मर्यादित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने समितिको माग छ। साथै, राहत तथा करार शिक्षकले भोग्दै आएको आर्थिक तथा मानसिक समस्यालाई ध्यानमा राखी मन्त्रालयले तत्काल आधिकारिक निर्णय वा सूचना सार्वजनिक गर्नुपर्ने समितिले जनाएको छ।
समितिले विवाद र आन्दोलनभन्दा संवाद तथा सहकार्यलाई प्राथमिकता दिएको बताउँदै स्थिति थप जटिल बन्नुअघि नै आफ्ना माग सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।