काठमाडाैँ - सर्लाहीको हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार गुनासाे गर्दे आइरहेका छन्। उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग समेत गरेका छन्।
हरिवनमा आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन्। हरिपुर्वा नगरपालिका-७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जानुपर्दा असहज भएकाे बताए।
उनले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गरे। भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छन्। हरिपुर्वा नगरपालिका ४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उनको भनाइ थियो।
'विद्यालय विद्यालयजस्तो छैन', भण्डारीले भने,'विद्यालय नै तर्साउने घरजस्तो भएको छ। हामी कसरी उत्साहित भएर पढ्नु ?', स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उनको गुनासो छ। लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका-१५ श्री जनता मावि गोनाहामा पढ्न जाने गरेको उनको भनाइ छ।
गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका स्कुल नियमित जाँदैनन्। यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ। यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन। धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरे। विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गरे।