काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले देशभरका ११ विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई पत्राचार गर्दै नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव माग गरेको हो ।
मन्त्रालयका अनुसार विश्वविद्यालयमा उपलब्ध ज्ञान, अनुसन्धान क्षमता, प्राविधिक जनशक्ति तथा प्रयोगशालाको प्रभावकारी उपयोग गर्दै अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन र उद्यमशीलतालाई राष्ट्रिय विकासका प्राथमिकतासँग जोड्ने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको हो ।
प्रस्तावित नवप्रवर्तन केन्द्रमार्फत विश्वविद्यालयमा विकसित अनुसन्धान तथा प्रविधिलाई प्रयोगात्मक विकास र प्रोटोटाइप निर्माण हुँदै बजारसम्म पुर्याउने वातावरण तयार गरिने मन्त्रालयले जनाएको छ ।
केन्द्रले प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, स्टार्टअप प्रवर्द्धन तथा उद्यमशीलता विकासमा समेत सहजीकरण गर्ने अपेक्षा गरिएको छ । यसबाट विश्वविद्यालयमा हुने अनुसन्धानलाई प्रयोगात्मक तथा व्यावसायिक क्षेत्रमा जोड्ने आधार तयार हुने मन्त्रालयको विश्वास छ ।
मन्त्रालयले सम्बन्धित विश्वविद्यालयलाई आफ्नो विद्यमान अवस्था, उपलब्ध क्षमता र भावी कार्ययोजनासहित नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्रस्ताव असोज १० गतेभित्र मन्त्रालयमा पेस गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका अनुसार भदौ २९ गते भएको मन्त्रीस्तरीय निर्णयअनुसार नवप्रवर्तन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउन विश्वविद्यालयहरूलाई पत्राचार गरिएको हो ।