काठमाडौँ- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै १४औँ महाधिवेशनबाट निर्वाचित भएर विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाट बाहिर रहेका नेताहरूलाई समेत केन्द्रीय सदस्यको हैसियतमा सहभागी गराउने भएको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनका तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विधानअनुसार वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय गरेपछि उनीहरूलाई बैठकमा सहभागी हुन पत्र पठाइएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका छन्।
पत्रमा भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार असोज १ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा हुने केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार त्यसअघि वडा, स्थानीय तह, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यक्रम छ।
केन्द्रीय सदस्यका रूपमा सहभागी गराउने निर्णय
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यको हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो।
यस निर्णयसँगै विशेष महाधिवेशनपछि बाहिर रहेका नेताहरूलाई पुनः महाधिवेशन प्रक्रियामा सहभागी गराउने बाटो खुलेको हो।
कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।
बैठकमा के विषयमा छलफल हुँदैछ ?
केन्द्रीय कार्यसमितिको बैठकमा १५औँ महाधिवेशनको तयारी, अधिवेशन प्रक्रिया तथा संगठनात्मक विषयमा छलफल हुने तयारी छ।
पार्टीले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई पनि समेटेर बैठक बोलाइएको हो। पछिल्लो निर्णयअनुसार उनीहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने व्यवस्था गरिएको छ।
यस्तो छ कांग्रेसले पठाएको पत्र :
