काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीभित्र कुनै पनि नेता तथा कार्यकर्तामाथि भेदभाव नगरिने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले विगतका मतभेद र विभाजनलाई बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले एउटै पार्टीमा आबद्ध भएका सबै नेता एकै ठाउँमा उभिनु नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति भएको बताए । विशेष महाधिवेशनका क्रममा को कुन पक्षमा थियो भन्ने आधारमा अब पार्टीभित्र विभाजनको रेखा कोर्न नहुने उनको भनाइ छ ।
‘को विशेषमा थियौँ, को थिएनौँ, को अगाडि को पछाडि भन्ने लाइन अब हुँदैन, यो मेट्नुपर्छ, मेट्छौँ,’ थापाले भने, ‘यो बीचमा कहाँ के भयो ? कसले के भन्यो ? यो कुरा मेटिसक्यो । किनकि यो घर हो, परिवार हो । परिवारमा यस्तो हुन्छ । यो बिर्सिनुपर्छ ।’
सभापति थापाले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई आरोप लगाउने र विगतका विषयलाई उचाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । कांग्रेसको राजनीतिक संस्कार र चरित्रअनुसार अब संयमित रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
‘सामाजिक सञ्जालमा लेख्ने, आरोपित गर्ने प्रक्रिया बन्द गर्नुपर्छ । हाम्रो चरित्र पनि होइन । हल्का कुरा बोल्न अब पाइँदैन,’ उनले भने ।
थापाले कांग्रेसका सबै अग्रज नेताप्रति आफ्नो सम्मान रहेको पनि बताए । पार्टीको आगामी महाधिवेशनलाई एकताबद्ध र समावेशी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले अधिवेशन उद्घाटनको दिन बिहानसम्म पनि पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी गराउन प्रयास जारी राख्ने बताए ।
उनका अनुसार पार्टीभित्र देखिएका असहमति र विवादलाई थप गहिर्याउनेभन्दा विगतका विषयलाई बिर्सेर कांग्रेसलाई एउटै परिवारका रूपमा अघि बढाउनु अहिलेको आवश्यकता हो ।